Loktantra Khabar National Weekly
Ad

यी हुन् टिभीमा देखिने संसारका पहिलो व्यक्ति

लोकतन्त्र खबर
८ फाल्गुन २०८२

आविष्कारका क्रममा पहिलो पटक टिभीमा देखिने व्यक्ति विलियम टेन्टन र उनको त्यतिबेला टिभीमा देखिएको धमिलो दृश्य । सन् १९२५ अक्टोबर २ का दिन स्कटल्याण्डका जोन लोगी बेयर्डले पहिलो पटक चलिरहेको दृश्य टेलिभिजनमार्फत एक ठाउँबाट अर्को ठाउँमा पठाउन सफल भएका थिए। एक शताब्दी अघि सन् १९२५ अक्टोबर २ का दिन मानव इतिहासमा एउटा महत्त्वपूर्ण क्षण आएको थियो । त्यस दिन स्कटल्याण्डका आविष्कारक जोन लोगी बेयर्डले पहिलो पटक चलिरहेको दृश्यलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन सफल भएका थिए । अर्थात् टेलिभिजनको औपचारिक आविष्कार भएको थियो । त्यस ऐतिहासिक क्षणमा टेलिभिजनमा देखिने भाग्यमानी व्यक्ति भने कुनै ठूलो नेता वा कलाकार थिएनन् । एक कार्यलयमा काम गर्ने २० वर्षका साधारण कर्मचारी विलियम टेन्टन थिए । र, आज उनलाई पहिलो पटक टिभीमा देखिने व्यक्ति भनेर विश्वभर चिन्ने गरिन्छ ।

कवाडी सामानबाट बनाइएको थियो टेलिभिजन ैज्ञानिकहरूले सन् १८५० देखि नै टेलिभिजन बनाउने प्रयास गरिरहेका थिए । तर जोन लोगी बेयर्ड अलि फरक स्वभावका थिए । टेलिभिजन बनाउन उनले कुनै महँगो प्रयोगशालामा काम गरिरहेका थिएनन् । कवाडी सामानहरू बटुलेर काम गरिरहेका थिए । त्यस्तो देख्दा उनले के बनाउलान् ? भन्ने थियो । तर, असम्भव जस्तो कामलाई उनले सम्भव बनाइदिए, त्यो पनि कवाडका सामानहरू प्रयोग गरेर । उनले पुराना साइकल, काठका टुक्रा, बिस्कुटका खाली बट्टा र कतिपय ठाउँमा त धागो समेत प्रयोग गरेका थिए ।

बेयर्ड सानैदेखि केही न केही नयाँ बनाउन खोजिरहन्थे । तर, धेरैजसो समय बिरामी भइरहन्थे । उनका लागि त्यो फाइदै भयो । नत्र उनी पनि पहिलो विश्वयुद्धमा भाग लिन जान सक्थे । बिरामी भएकै कारण उनलाई युद्धमा जान दिइएको थिएन । त्यसपछि फुर्सदिलो भएका उनी आविष्कार गर्नतर्फ लागे। भलै उनले जीवनमा धेरै असफलता भोगे। जस्तो, एक पटक उनले बिजुलीको ठूलो झट्का प्रयोग गरेर कोइलाबाट हिरा बनाउन खोजेका थिए । परिणाममा केही लागेन । उल्टै पूरै शहरको बिजुली काटिएको थियो । यस्तो हर्कत गर्दै गइरहेका उनले अन्ततः टेलिभिजनमा भने सफलता पाए । संसार बदल्ने त्यो ऐतिहासिक क्षण

सन् १९२३ देखि भने उनी टेलिभिजन बनाउन लागिपरे । त्यसका लागि लण्डनको सोहो भन्ने ठाउँमा कोठा भाडा लिए र आफ्नो प्रयोगशाला सुरु गरे । त्यस ठाउँमा राखिएका मेसिनहरूले गर्दा यति धेरै तातो निस्किन्थ्यो कि त्यहाँ मान्छे बस्न निकै कठिन हुन्थ्यो । त्यसैले सुरुमा ‘होस्ट’का लागि उनले मान्छेको सट्टा खेलौनाहरू प्रयोग गर्थे । तर सन् १९२५ अक्टोबर २ का दिन उनलाई मान्छे नै आवश्यक प¥यो । उनका लागि त्यहाँ आउने अरू कोही थिएनन् । अनि उनले आफ्नो प्रयोगशालाको तल काम गर्ने २० वर्षका विलियम टेन्टनलाई बोलाएका थिए । जसोतसो फकाएर प्रयोगशालामा लैजाँदा टेन्टन त्यहाँको अवस्था देखेर डराएका थिए । जोन लोगी बेयर्डको प्रयोगशाला । किनकि कोठाभरि तारहरू छरिएका थिए । मेसिनबाट आगोजसरी तातो हावा निस्किरहेको थियो । तर, बेयर्डले केही हुन्न भन्ने विश्वास दिलाए । र, एउटा कुर्सी दिएर मेसिनको अगाडि स्थिर भएर बस्न भने ।

अनि, बेयर्ड अर्को कोठामा रहेको रिसिभर (दृश्य देखिने ठाउँ) तिर गए । दृश्यमा चाल देखिन्छ कि देखिँदैन भनेर उनले टेन्टनलाई जिब्रो निकाल्न र अनुहार बिगार्न भने । यता टेन्टनलाई भने त्यो तातोले गर्दा बस्न निकै गाह्रो भइरहेको थियो । बेयर्डले भने ‘केही सेकेन्ड मात्र विलियम, केही सेकेन्ड’ भन्दै सम्झाइरहेका थिए । त्यही माहौलबीच अचानक बेयर्ड खुसीले उफ्रिँदै टेन्टन भएको कोठामा गए । र, कराए, ‘विलियम ! मैले तिमीलाई देखें । मैले टेलिभिजन आविष्कार गरें’ तर, टेन्टनलाई टेलिभिजन भनेको के हो थाहै थिएन । त्यसपछि आफूले भर्खरै आविष्कार गरेको चिज बेयर्डले टेन्टनलाई समेत देखाए । यसरी टेलिभिजन आविष्कार भएको थियो । भलै त्यो दृश्य आजको जस्तो सफा थिएन । तर, त्यो संसारकै पहिलो टेलिभिजन दृश्य थियो । पछि बेयर्डले टेन्टनलाई त्यति काम गरेको आधारमा केही पैसा समेत दिएका थिए । यसैले त्यसलाई ‘टेलिभिजनमा देखिए बापत दिइएको संसारकै पहिलो शुल्क’ समेत भन्ने गरिन्छ ।

बेयर्डको त्यो भविष्यवाणी यद्यपि टेन्टनलाई सुरुमा बेयर्डको त्यो आविष्कार खासै राम्रो लागेन । उनले बेयर्डलाई दृश्य मधुरो र नराम्रो देखिएको भन्दै ‘यसले के नै काम गर्ला र’ भनेर भनेका थिए । तर, बेयर्डलाई आफ्नो काममा विश्वास थियो । उनले त्यो काम सुरुवात मात्र भएकाले अबको केही समयपछि यो प्रविधि संसारमा पुग्ने बताएका थिए । आज बेयर्डले भनेको कुरा ठ्याक्कै पुगेको छ । टेलिभिजन अति लोकप्रिय भएर पनि अहिले विस्थापनको अवस्थामा पुगेको छ । सन् १९२६ मा बेयर्डले पहिलो पटक सार्वजनिक रूपमा टेलिभिजन देखाएका थिए । तर उनले टेलिभिजन घरघरम पुगेको देख्न पाएनन् । उनी ५७ वर्षको उमेरमा बिते । तर, त्यसको केही वर्षपछि नै मान्छेहरूले आ–आफ्नो घरमा बसेर चन्द्रमामा मानिस ओर्लिएको दृश्य टेलिभिजनमा प्रत्यक्ष हेरेका थिए । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: