काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन्। निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो। नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिए। ‘जुत्ता हामीले उपलब्ध गराउने होइन निर्वाचन प्रहरी आफैँले खरिद गर्नु पर्छ,’ जुत्ता सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न भनिएको छ।’ पोसाक र बेतको लट्ठी स्थानीय उत्पादनले नपुगेपछि व्यापारीले भारतबाट समेत ल्याउने गरेको उनले जानकारी दिए।निर्वाचन अवधिमा एक लाख ३३ हजार ९८० जोर जुत्ता र सोही सङ्ख्यामा बेतको लट्ठी खपत हुने गर्छ। प्रतिव्यक्ति एक जोरका दरले पोसाकसमेत एक लाख ३३ हजार ९८० जोर खपत हुने गर्छ। धेरै जोर पोसाक खपत हुने हुँदा सिउन नभ्याएकाले पनि व्यापारीले भारतबाट आयात गरेको नेपाल प्रहरीले जनाएको छ।
गोल्डस्टारसँगै नाइक कम्पनीको जुत्तासमेत प्रयोग गर्न भनिएको काफ्लेले जानकारी दिए। निर्वाचन प्रहरीका लागि सरकारले पोसाकको पैसा दिने र व्यक्ति स्वयम्ले खरिद गर्नुपर्ने व्यवस्था छ। बजारमा गोल्डस्टार जुत्ताको मूल्य न्यूनतम पाँच सयदेखि पाँच हजार रुपियाँ रहेको छ। निर्वाचनमा जुत्ताको खपत धेरै भएपछि कारोबारसमेत धेरै हुने गर्छ। निर्वाचन प्रहरीका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९।४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४,७७६ रुपियाँ तोकिएको छ । मतदानको दिनअघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन तीन सय रुपियाँका दरले एकमुष्ट एक हजार दुई सय रुपियाँ खाजा खर्च उपलब्ध गराइने छ । सौजन्य थाहा खबर

