आसन्न प्रतिनिधिसभाको चुनावमा मधेश प्रदेशबाट मात्र ५८ जना जेन–जी समूहका उम्मेदवार सहभागी भएका छन् । ती मध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा प्रतिस्पर्धामा उत्रेका जेन– जीमध्ये ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलका छन् । पूर्वमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले सिरहा–३ मा २६ वर्षीय श्रवण पासवान, महोत्तरी–१ मा २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट २ मा २५ वर्षीय रामाकान्त प्रसाद पटेल सहित तीन जेन–जीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सीके राउतको जनमत पार्टीले महोत्तरी–१ मा २७ वर्षीय विरेन्द्र महतो, रौतहट २ मा २८ वर्षीय सोनु कुशवाहा र रौतहट ४ मा २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ । धरानका पूर्व मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सिरहा ४ मा २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा १ मा २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको हो । यसअघिका हरेक चुनावमा पुराना दलबाट उही अनुहार दोहोरिने गरेकोमा यसपाली त्यो क्रम केहीहदसम्म टुटेको राजनीतिक विश्लेषकहरु बताउँछन् । “युवाहरुमा राजनीतिप्रति चरम निराशा पैदा भएको थियो । तर यसपालीको निर्वाचनमा दलहरुले युवाहरुको महत्व केही हदसम्म बुझ्न खोजेको देखिन्छ ।
यसपटक मधेशमा जेन जी युवाको उम्मेदवारीले नयाँ उत्साह पैदा गरेको राजनीतिक विश्लेषक डा. सुशिल यादवले बताए । नयाँ दलको तुलनामा पुराना दलबाट भने जेन जी युवा उम्मेदवारको संख्या न्युन छ । एमालेले पूर्वसांसद शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिश कुमार यादवलाई सर्लाही ४ मा उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश सिंह लगायतका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ मा २७ वर्षीय अजय कुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ मा निलम कुमारी यादवलाई खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २८ वर्षीय बब्लु गुप्तालाई सिरहा १ मा अघि सारको छ ।
उम्मेदवार हुनुअघि उनी युवा तथा खेलकुद मन्त्री थिए । चुनाव लड्न उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले बारा–४ मा २७ वर्षीय अजय कुशवाहालाई उठाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ मा २७ वर्षीय अजय कुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ मा नीलमकुमारी यादवलाई उम्मेदवार बनाएको छ । युवा अभियन्ता दिनेश साह २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले ल्याएको परिवर्तनका कारण मधेश प्रदेशबाट उल्लेख्य संख्यामा जेन–जी युवा उम्मेदवार बन्न सफल भएको बताउँछन् । उनी भन्छन् –‘विगतमा तिमीहरुको उमेर पुगेको छैन, तिमीहरुको उमेर बाँकी नै छ, पालो आइहाल्छ भन्ने गरिन्थ्यो । तर, यसपाली यूवालाई पनि प्राथमिकता दिन थालिएको छ ।
यो परिवर्तन जेन–जी आन्दोलन ल्याएको हो ।’ अर्का युवा अभियन्ता बलिराम साह उम्मेदवार छनौट गर्दा यसपाली ‘जसको सवाल, उसको नेतृत्वको बहस’ केही हदसम्म सार्थक भएको बताउँछन्। साह थप्छन् – ‘प्रतिनिधि सभा निर्वाचनमा जेन जी प्रतिनिधि निर्वाचित भए भने युवाको आवाजले संसदमा स्थान पाउनेछ ।’ हुन पनि राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवार भएका जेन–जी युवाले आगामी चुनावमा सुशासन र विकासलाई नै मुख्य मुद्दाको रुपमा अघि सारेका छन् ।
मन्त्री पदबाट राजिनामा दिएर रास्वपाबाट सिरहा –१ मा उम्मेदवार बनेका ब्लु गुप्ता भन्छन् – ‘नयाँ युगको नेतृत्व युवाले गर्न सक्ने भएकोले उनीहरुको बढी भन्दा बढी प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर नै म चुनावमा होमिएको हुँ । यसपाली जेन जी युवा उम्मेदवारको संख्या धेरै भएकोले संसदमा उनीहरुको प्रतिनिधित्व पनि बढी हुनेछ । त्यसले देशलाई परिवर्तनको आभास दिलाउनेछ ।’ जनमत पार्टीबाट महोत्तरी क्षेत्र नम्बर– १ मा उम्मेदवार भएका २७ वर्षीय विरेन्द्र महतो पुराना नेताको कुशासनको कारणले जनताले अहिले पनि विकास र समृद्धिको अनुभुति गर्न नसकेको बताउँछन्। उनी थप्छन् –‘हामी, कुशासनको खिलाप अनि सुशासन र विकासको अजेण्डा लिएर चुनावमा होमिएका छौं ।’ महोत्तरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउँदै वीरेन्द्र महतो । सर्लाही ४ का एमाले उम्मेदवार २७ वर्षीय अमनिशकुमार यादव यसपटक मधेशमा दल र स्वतन्त्रबाट प्रतिस्पर्धामा उत्रेका उम्मेदवारमा जेन–जीको संख्या उल्लेख्य भएकोले त्यसले मतदातामा नयाँ आशा जगाएको बताउँछन् । ‘युवाले सडकबाट सरकार परिवर्तन गर्न सक्छन् भने सदनबाट पनि जनताको जीवन बदल्न सक्छन्।’ उनी भन्छन् ‘दलहरुले अब युवालाई नेतृत्व दिनु पर्छ अनि उनीहरुले काम गरेर देखाउने अवसर पाउनेछन् ।’ सौजन्य जनकपुर टुडे

