Loktantra Khabar National Weekly
Ad

माघ २५ गतेदेखि जनकपुरधाममा एचपीभी खोप

लोकतन्त्र खबर
२३ माघ २०८२

जनकपुरधाम उपमहानगरपालिकाले माघ २५ गतेदेखि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भि. (पाठेघरको मुखको क्यान्सर विरुद्ध) खोप अभियान सञ्चालन गर्ने भएको छ । बुधवार उपमहागरपालिकाको कार्यलयमै नगर प्रमुख मनोज साहको अध्यक्षतामा सम्पन्न बैठकबाट माघ २५ गते सो खोप संचालन गर्ने बारे छलफल गरिएको जनाइएको छ । बैठकमा जानकारी गराइए अनुसार, एच.पि.भि. खोप अभियान यही माघ २५ गतेदेखि फाल्गुन १० गतेसम्म सञ्चालन गरिनेछ । अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका सबै २५ वटै वडाका विद्यालयहरू तथा प्रत्येक वडामा तोकिएका वडाखोप केन्द्रहरूमा खोप सेवा उपलब्ध गराइनेछ । यस अभियानमार्फत कक्षा ६ मा अध्ययनरत बालिकाहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका छात्राहरू, साथै गत वर्षको खोप अभियानमा छुट भएका ११ वर्षदेखि १४ वर्षसम्मका बालिकाहरूलाई एच.पि.भि. खोप निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रीमान् मनोज कुमार साह ज्यूले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट भविष्यका छोरीहरूलाई सुरक्षित राख्न खोप अभियान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै लक्षित सबै बालिकाहरूलाई खोप लगाउन अभिभावक तथा विद्यालयलाई सहकार्य गर्न आग्रह गरे । एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्ने भएकाले यसबाट बच्न जरुरी रहेको बैठकमा सहभागी स्वास्थ्य जानकारहरुले बताए । उनीहरुका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्प र्क गर्ने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिंदा फैलिने गरेकाले यसप्रति ध्यान जरुरी रहेको बताए । सो बैठकमा प्रशासन शाखा प्रमुख जयकुमार साह, स्वास्थ्य शाखा प्रमुख विजय साह लगायत उपमहानगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुखज्यूहरु, वडास्तरीय स्वास्थ्यकर्मीहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सौजन्य जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: