जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको समृद्धि र विकासको नेतृत्व मधेशीले नै गर्ने दाबी गरेका छन् । जनकपुरधाममा बुधबार जसपा नेपाल धनुषाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव पद परित्याग गरेका नेता संजयकुमार चौधरी र नेता संजय सिंहलाई पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पार्टी प्रवेश गराउँदै मधेशको निर्माण गरेका मधेशीले नै समृद्धि र विकासको नेतृत्व गर्ने बताए ।
कांग्रेस र कम्युनिष्टहरुले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दुराभाव राखेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपाल एक मात्र विकल्प रहेको बताए । २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन ०८२ मै हुनुले पनि काँग्रेस कम्युनिष्टको असफलता उजागर रहेको स्पष्ट पारे । अध्यक्ष यादवले भने, ‘ उनीहरुले न त संविधानको रक्षा गर्न सके नत सरकारकै, काँग्रेस– कम्युनिष्ट र घण्टे घण्टाहरुकै कारण मुलुकलाई मध्यावधि निर्वाचन भोग्नु परेको छ । यसको जवाफ उनीहरुसंग माग्नुपर्छ ।’ उनले यथास्थितिवादी शक्तिहरु अझै संविधानलाई खारेज गरी संघीयतालाई समाप्त गर्ने दुस्सहास गरी रहेको हुँदा त्यस्ता दुस्सहासलाई परास्त गर्न आसन्न निर्वाचन बाट जनता समाजवादी पार्टीलाई बलियो हुनै पर्ने बताए ।
आसन्न निर्वाचनमा युद्ध स्तरमा जुटन नेता कार्यकर्ताहरुलाई निर्देशन दिदैँ अध्यक्ष यादवले निर्वाचनमा धोका दिने कार्यकर्ता र युद्धमा भाग्ने सेनालाई कहिल्यै माफ गर्न नसक्ने बताए । उनीसंग दर्जनौँ नेता तथा कार्यकर्तासमेत जसपा नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालमा प्रवेश गरेका चौधरी र सिंह धनुषा– ३ का उम्मेदवार परमेश्वर साहसंगको सामिप्यता र सहयोग गर्नका लागि प्रवेश गरेको जनाइएको छ । सौजन्य जनकपुर टुडे

