Loktantra Khabar National Weekly
Ad

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई १० वर्षको जेल सजाय

लोकतन्त्र खबर
२१ माघ २०८२

बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित यी मुद्दाहरूमा ढाकाको विशेष अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार उक्त फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा हसिनालाई पाँच–पाँच वर्षको जेल सजाय तोकेको छ ।

यो मामिला राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा सञ्चालित ‘राजुक न्यू टाउन’ परियोजनासँग सम्बन्धित छ, जहाँ दुईवटा १०–काठाका प्लट गलत तरिकाले वितरण गरिएको आरोप लागेको थियो । अभियोजन पक्षका अनुसार आरोपीहरूले आफ्नो पदको दुरुपयोग गर्दै नियमविपरीत जग्गा बाँडफाँट प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरणअन्तर्गत सञ्चालित छ ।

यस मुद्दामा शेख हसिनाका साथै उहाँका परिवारका अन्य सदस्यहरूलाई पनि दोषी ठहर गरिएको छ । अदालतले तुलिप सिद्दिकीलाई कुल चार वर्ष, रदवान मुजिब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात–सात वर्षको जेल सजाय सुनाएको छ । त्यसैगरी, अदालतमा आत्मसमर्पण गरेका राजुकका सदस्य मोहम्मद खुर्सिद आलमलाई दुई वर्षको जेल सजाय दिइएको छ । पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा बसोबास गर्दै आएकी छिन् । गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको विरोध प्रदर्शन र राजनीतिक विद्रोहपछि उनले देश छोडेर भारतमा शरण लिएकी थिइन् । यसअघि नै बंगलादेशी अदालतले उनलाई ‘फरार’ घोषित गरिसकेको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: