मलंगवा – सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार अमनिश कुमार यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका यादवले परिवर्तनका पक्षमा मत दिन आग्रह गरिरहेका छन् ।
यस वर्ष सर्लाही – ४ मा चर्चित तथा प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा हुने भएपछि निर्वाचन थप रोचक हुने देखिएको छ । यही कारण अहिले गाउँ–गाउँमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ ।
उमेरले भर्खरै २७ वर्ष पुगेका अमनिश कुमार यादव यस क्षेत्रका प्रभावशाली नेता शिवपुजन यादवका छोरा हुन्। उनि केही दिनयता गाउँघर केन्द्रित अभियानमा सक्रिय छन् । धेरै भाषणभन्दा काम गरेर देखाउने विश्वास दिलाउँदै आएका यादवले आफ्नै गाउँ–ठाउँका छोरालाई मौका दिन मतदातासँग आग्रह गरेका छन् ।
यस क्षेत्रका अधिकांश किसानहरू अहिले उखु मिलमा लिन व्यस्त छन् भने यादव खेतमै पुगेर पनि घरदैलो गरिरहेका छन्। कतिपय मतदातासँग उनी खेतबारीमै भेटघाट गर्ने गरेका छन् । आफू किसानकै छोरा भएको बताउँदै यादवले आफ्ना बाजे–पुर्खा पनि किसान नै रहेको उल्लेख गर्छन् ।
त्यसैले किसानका समस्या आफूले नजिकबाट बुझेको र जनताको साथ पाए समाधान गरेर देखाउने उनको भनाइ छ । अहिले भाषण धेरै नदिने र जनताले साथ् दिए काम गरेर देखाउने उनि बताउछन् । त्यसैले आफ्नै गाउँ ठाउँको छोरालाई मत दिन उनले आग्रह गरेका छन् ।
शिवपुजनको परिवार नै राजनीतिमा सक्रिय रहँदै आएको छ । शिवपुजनकी श्रीमती मीना यादव २०७९ मा समानुपातिक तर्फ माओवादी सांसद बनेकी थिइन ्। सोही वर्ष शिवपुजनकी छोरी मधुमाला कुमारी यादव पनि स्वतन्त्र उम्मेदवार बनेकी थिइन् ।
तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसले यो क्षेत्र पाएपछि शिवपुजनले आफ्नी छोरीलाई उम्मेदवार बनाएका थिए । उक्त निर्वाचनमा मधुमालाले १४ हजारभन्दा बढी मत प्राप्त गरेकी थिइन् ।
शिवपुजन यादव २०७४ सालदेखि माओवादीमा सक्रिय थिए । उनि माओवादीमा आएपछि नै यस क्षेत्रमा माओवादी बलियो बनेको बताउने गरिन्छ । शिवपुजन यादवको प्रभावका कारण माओवादीले यसअघि बलरा नगरपालिका र रामनगर गाउँपालिका जितेको बताइन्छ ।
रामनगर गाउँपालिकामा त शिवपुजनकै अर्का छोरा राजाबाबु यादव अध्यक्ष निर्वाचित भएका थिए। उनले आसन्न फागुन २१ को निर्वाचनमा आफ्ना छोरा अमनिशका लागि सर्लाही – ४ बाट टिकट मागे पनि नेकपाले रजनिस राय यादवलाई उम्मेदवार बनाएपछि शिवपुजन एमाले प्रवेश गरेका थिए ।
नेकपा एमालेले सुरुवातमा सर्लाही–४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार तय गरेको थियो। सचिवालय बैठकको निर्णयअनुसार कुशवाहा उम्मेदवार बनेका थिए। तर अन्तिम समयमा पार्टीले निर्णय परिवर्तन गर्दै २७ वर्षीय अमनिश कुमार यादवलाई उम्मेदवार बनायो ।
यता, यस क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। कांग्रेसी राजनीतिसँग लामो समयदेखि जोडिएका सिंह कांग्रेस उम्मेदवारसँग दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७९ को निर्वाचनमा सिंह स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । त्यो निर्वाचनमा उनले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरेका थिए ।
यस्तै, यहि क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगन थापा पाँच दिन सर्लाहीमा बसेर हिँजो मात्र फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा रहँदा उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए। यहाँबाट फर्कने बेला गगनले “यहाँ आइपुग्दा द्विविधा थियो, तर फर्किँदा भरोसा बोकेर जाँदैछु। जनताको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको छ।” बताएका छन् ।
यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट रामेश्वर राय यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, जनमत पार्टीबाट राकेशकुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय, उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुसवाह, नेपाली कांग्रेसबाट गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंहलगायतले उम्मेदवारी दिएका छन् ।
सर्लाही – ४ मा कुल एक लाख २१ हजार १२ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, १५ गरी सात वटा वडा, गोडैटा नगरपालिकाको १ देखि १२ सम्मका वडा, धनकौल गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा, बलरा नगरपालिकाका १ देखि ११ नम्बर वडासम्म, बसबरीया गाउँपालिकाका १ देखि ३ नम्बरसम्मका वडा, रामनगर गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा र विष्णु गाउँपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्दछन् । सौजन्य धड्कन एफ.एम.

