राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फेरि कोही सहिद हुन नपरोस् भन्दै कामना गरेका छन् । सहिद दिवसका दिन शुभकामना सन्देश जारी गर्दै उनले सहिदका सपना पूरा गर्ने कार्यभार सबैले पूरा गर्नुपर्ने बताएका हुन् ।
‘राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ। त्यसको दश वर्षपछि राणा शासबनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पयो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन,’ उनले लेखेका छन् । पटक–पटक नेपाली जनता सहिद भएको तर सहिदका सपना पूरा हुन नसकेको उनले बताएका छन् ।
८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपरेको उनले स्मरण गरेका छन् ।
‘अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौं। लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ। यी सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन। अब समय आएको छ– सहिदका रगतलाई सम्मान गर्दै उहाँहरुको सपना पूरा गर्ने,’ उनले भनेका छन् ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने कार्यभार आएको पनि उनले बताएका छन् । ‘यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको स्मरण गर्दै उहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरि कसैले सहिद बन्नु नपरोस्,’ उनले भनेका छन् । सौजन्य जनकपुर टुडे

