विराटनगर, १२ माघ । नेपाली कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगेका छन् । गत पुस १३ गते मनोनयन दर्ता गरेका उनले प्रतिस्पर्धा गर्नै परेन । नेकपा उम्मेदवार समयमा नआएपछि निर्विरोध निर्वाचित भएका उनले आइतबार निर्वाचित भएको प्रमाणपत्र पाए । राष्ट्रिय सभामा नेकपाले हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो । तर,संखुवासभाबाट विराटनगर आउन ढिलो भएपछि थापा निर्विरोध भए ।
निर्वाचित भएपछि उनले लामो राजनीतिक र प्रशासनिक अनुभवलाई राष्ट्रको हितमा लगाउने जनाए । ‘सर्वप्रथम अहिले हाम्रो जुन गणतन्त्र, संघीयता, समावेशी र संविधानलाई बचाएर अघि बढ्ने हो,’ उनले भने,‘ एउटा ल मेकरको हिसाबले अब त्यहाँ आउने बिल (विधेयक)हरूलाई चाहिँ राम्रोसँग केलाएर कसरी हुन्छ राष्ट्र र जनताको हितमा काम गर्नेछु भन्ने मैले अठोट लिएको छु।’ उनले संयुक्त राष्ट्र संघदेखि दुई पटक मन्त्रीसम्मको जिम्मेवारी सम्हालेका कारण त्यसको अनुभवले राष्ट्रिय सभामा काम गर्ने बताए ।
‘नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा मेरो लामो अनुभव र दक्षता छ, अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रमा काम गरेको अनुभवलाई अब मैले नेपाली कांग्रेसको मात्र नभई राष्ट्रकै हितका लागि प्रयोग गर्नेछु ,’ उनले भने । पूर्वप्रधानमन्त्री तथा राजावादी नेता सूर्यबहादुर थापाका छोरा सुनिलको राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरू भएको थियो । राप्रपाको राजनीति ओरालो लागेपछि २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसबेला उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाए ।
राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नका लागि थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । १६ चैत २०७९ मा थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । उनले राष्ट्रिय सभामा उम्मेदवारी दिनका लागि गत १ पुसमा राष्ट्रपति पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा– २ बाट राप्रपाका तर्फबाट प्रत्यक्ष चुनाव जितेका थिए । यो उनका बुबा सूर्यबहादुर थापाको क्षेत्र हो । सौजन्य अनलाइनखबर

