वीरगञ्ज । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा शुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी छ। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरु हुने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पु¥याइएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना उम्मेदवार तय भएका छन् । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशन भइसकेको छ । सौजन्य यात्रा डेली

