Loktantra Khabar National Weekly
Ad

धनुषा २ मा नयाँ र पुरानाबीच प्रतिस्पर्धा : राष्ट्रिय सभामा गठबन्धन गरेका दलहरु प्रतिनिधि सभाको प्रतिस्पर्धामा

लोकतन्त्र खबर
११ माघ २०८२

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ र पुराना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने भएको छ । राजनीतिमा लामो अनुभव भएका पुर्व मन्त्री रामचन्द्र झा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार छन् । झा निर्वाचन क्षेत्र नम्बर २ को जमिनसित जोडिएको नेताको् रुपमा स्थापित छन् । तर उनले यस पटक नेपाली काँग्रेसका दिनेश प्रसाल यादव परसैला, एमालेका उमाशंकर अरगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामविनोद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका पशुपति यादवसित प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

नेकाँ, एमाले, रास्वपा र जसपाका उम्मेदवारहरु युवा छन् । कांग्रेसका उम्मेदवार परसैला संविधान सभामा निर्वाचित भएका थिए । अरगडियापनि एक पटक सो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । रामविनोद र पशुपति यादव पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

पशुपति यादव कमला नगरपालिकाको मेयरमा उम्मेदवार रहेका थिए । रामविनोद यादवलाई पनि निर्वाचनको खेलाडी मानिन्छ ।उनले विगतमा कयौं चुनाव कुशलतापूर्वक हाँकेर अनुभव बटुलेका छन् । मतदातासँग सिधा सम्पर्कमा रहने र तत्काल विश्वासमा लिन सक्ने उनको विशेषता मानिन्छ । जनकपुरधाम उपमहानगरदेखि कमला नदी सम्म फैलिएको क्षेत्रमा उम्मेदवारहरुको मूल्यांकन फागुन २१ गते हुने भएको छ । सो क्षेत्रमा २४ स्वतन्त्र र १० दलका गरी कुल ३४ उम्मेदवार रहेका छन् । पछिल्लो पटक २०७९ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा सो क्षेत्रबाट कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका थिए ।उ नका निकटतम् प्रतिद्वन्दी एमालेका अरगडिया रहेका थिए । सामान्य मतान्तरले यादव निर्वाचित भएका थिए । जसपा नेपालबाट गंगाराम यादव उम्मेदवार रहेका थिए ।

रास्वपाले पहिलो पटक चुनावमा उम्मेदवार उठाएको छ ।देशभरि नै परिवर्तनको हावा चलेको बेला धनुषाको निर्वाचन क्षेत्र नम्बर २ पनि अछुतो नरहने विश्लेषकहरुको कथन छ । तर जेनजी आन्दोलनको प्रभाव खासै नदेखिने उम्मेदवारहरुले बताउँछन् । गत चुनावमा एमाले र जसपा नेपालबीच चुनावी तालमेल रहेपनि निर्वाचन क्षेत्र नम्बर २ मा सबै दलले उम्मेदवार उठाएको थियो ।

एमाले र जसपा नेपालले अलग अलग उम्मेदवार उठाएपछि कांग्रेसले बाजी मारेको थियो । यस पटक पनि सबै दलहरुले उम्मेदवारी दिएकाले परिणाम अन्यौलमा रहेको बताइन्छ । गत चुनावमा कांग्रेसबाट निर्वाचित भएका रामकृष्ण यादवले २० हजार १ सय १२ मत प्राप्त गरेका थिए भने एमालेका उमाशंकर अरगडियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए । नेकपा एसका रामचन्द्र झाले १३ हजार ६ सय ५ र जसपा नेपालका गंगाराम यादवले १२ हजार ९ सय १ मत ल्याएका थिए ।

जनमतका जयनारायण साहले ९ हजार ९ सय ९२ मत प्राप्त गरेका थिए । उम्मेदवारहरुले चुनाव प्रचार प्रसार थालिसकेका छन् । उनीहरु अहिले घरदैलो भन्दा चोकहरुमा भेंटघाटमा जोड दिएका छन् । शुक्रवार वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन परेकाले उम्मेदवारहरु दलबल सहित विद्यालयहरुमा घुमफिर गरे । सहरमा मात्र नभई ग्रामीण भेगमापनि नेताहरु विद्यालय लगायत चोकहरुमा आयोजना गरिएको सरस्वती पूजामा उम्मेदवारहरु पुगेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा जातिय समिकरण बन्ने संभावना कमजोर नै रहन्छ । सो क्षेत्रमा जातिगत भन्दा उम्मेदवारहरुको जनस्तरमा रहेको पकडको आधारमा मतदान हुने गर्छ । देशमा संघीयतामा बिभाजन भएको निर्वाचन क्षेत्र अनुसार कुनै एउटा दलको मात्र प्रभाव रहेन् । सबै दलको प्रभाव रहेको भएपनि चुनावको परिणाम उम्मेदवारको व्यक्तिगत लोकप्रियताले बढी प्रभावित हुने गरेको छ ।

धनुषा जिल्लामा रहेको चार निर्वाचन क्षेत्र मध्ये २ नम्बरमा धेरै पटक जित्नेमा कांग्रेसका रामकृष्ण यादव नै छन् ।तर उनी यस पटक टिकटको प्रतिस्पर्धाबाट बाहिरिए । उनको पकड सो क्षेत्रमा राम्रो मानिन्छ । युवा र पुराना उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरुले विस्तारै आफ्नो प्रभाव बढाउन थालेका छन् । चुनाव हुने नहुने अनिश्चय र टिकट वितरणमा ढिलाईको कारण उम्मेदवारहरु नै अनिश्चित थिए । राष्ट्रिय सभामा गठबन्धन गरेका दलहरु प्रतिनिधि सभाको निर्वाचनमा एक अर्काका प्रतिस्पर्धी बनेका छन् । राष्ट्रिय सभामा एमाले, कांग्रेस र जसपा नेपालबीच देशभर सहित मधेश प्रदेशमा पनि गठबन्धन छन् । तर प्रतिनिधि सभामा प्रतिष्पर्धी बनेका हुन् । एमालेबाट अरगरिया, कांग्रेसबाट परसैला र जसपा नेपालबाट यादव उम्मेदवार छन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: