वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल तीव्र बनेको छ। पुराना राजनीतिक दलका अनुभवी उम्मेदवारसँगै नयाँ अनुहार र स्वतन्त्र विचार बोकेका उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । होटेल तथा पर्यटन व्यवसायीबाट राजनीतिमा प्रवेश गरेका बुद्धिबहादुर पन्त (हरी पन्त) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ‘जेनजी आन्दोलन’का मुद्दा लिएर मतदाताको घरदैलोमा पुगेका छन्। युवाकेन्द्रित एजेन्डा, सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारासहित पन्त मतदातामाझ सक्रिय देखिएका छन् ।
यसपटक पर्सा–१ मा दल परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक निर्वाचन जित्दै ‘ह्याट्रिक’ गर्ने रणनीतिमा छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगेका यादवले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट जित हासिल गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अनिल रुंगटा भने लामो समयदेखि प्रतिनिधिसभा निर्वाचनमा जितविहीन अवस्थालाई तोड्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। उनी २०७४ सालमा जसपाका प्रदीप यादवसँग पराजित भएका थिए र यसपटक फेरि सोही प्रतिस्पर्धामा उत्रिएका हुन् । यसैबीच, २०७४ सालदेखि पर्सा–१ मा आफ्नो राजनीतिक पकड बनाउँदै आएको जसपाले यसपटक नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव पनि चुनावी प्रतिस्पर्धामा छन्। यादव २०७९ सालको निर्वाचनमा पर्सा–२ (ख) बाट प्रदेशसभा सदस्यको चुनाव लड्दा नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद पटेलसँग १ हजार ६५७ मतान्तरले पराजित भएका थिए ।
यता, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा उदाएका युवा नेता रामकिशोर सिंह (पराग) उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा १ मतको झिनो अन्तरले पराजय भोगेका थिए भने २०७९ सालको निर्वाचनमा ४१४ मतान्तरले विजयी हुँदै आफ्नो राजनीतिक उपस्थिति मजबुत बनाएका थिए । नयाँ र पुराना उम्मेदवारबीचको कडा प्रतिस्पर्धा, दल परिवर्तनको प्रभाव र मतदाताको बदलिँदो चाहनाले पर्सा–१ को निर्वाचनलाई यसपटक थप चासोको विषय बनाएको छ । सौजन्य यात्रा डेली

