Loktantra Khabar National Weekly
Ad

तेस्रो जितको लक्ष्यसहित एमाले उम्मेदवार प्रदीप यादव चुनावी मैदानमा

लोकतन्त्र खबर
९ माघ २०८२

वीरगञ्ज । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार बनेका प्रदीप यादव नेकपा एमालेका उम्मेदवार विचारी यादवसँग झिनो मतान्तरले पराजित भएका थिए । तर त्यसपछि भएका संसदीय निर्वाचनहरूमा उनले कहिल्यै पराजय व्यहोर्नु परेन ।

२०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट लगातार दुई पटक विजयी हुँदै यादवले नयाँ इतिहास रचे । पर्सा–१ मा यसअघि कसैले पनि एक पटकभन्दा बढी निर्वाचन जितेको इतिहास थिएन । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पहिलो पटक संघीय सांसद बनेका थिए । त्यसैगरी २०७९ को निर्वाचनमा तत्कालीन जसपा नेपालबाट उम्मेदवार बनेका यादवले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई एक हजार सात सयभन्दा बढी मतान्तरले हराउँदै लगातार दोस्रो पटक सांसद बन्न सफल भए ।

अब फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा यादव नेकपा एमालेबाट उम्मेदवार बनेर पर्सा–१ बाट तेस्रो पटक जित हात पार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् । यादवले भने, “पर्सा–१ मा यसअघि कसैले पनि लगातार दुई पटक चुनाव जितेको इतिहास थिएन । मैले २०७४ र २०७९ मा लगातार चुनाव जित्दै इतिहास रचेँ । यसपालि पनि यही क्षेत्रबाट उम्मेदवार बनेको छु र जितको ह्याट्रिक पूरा गर्नेमा म विश्वस्त छु ।” विगतका दुई कार्यकालमा पर्सा–१ का जनताको सुख–दुःखमा सधैं साथमा रहेको दाबी गर्दै यादवले जनताले आफ्नो कामको मूल्यांकन गरेर पुनः विजयी बनाउने विश्वास व्यक्त गरे ।

खानेपानी मन्त्री हुँदा वीरगञ्जमा देखिएको खानेपानी संकट समाधानका लागि आफूले विशेष पहल गरेको उल्लेख गर्दै उनले भने, “वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला संयोगले म खानेपानी मन्त्री थिएँ । मन्त्रालयमार्फत पर्याप्त बजेट ल्याएर घर–घरमा पानी पु¥याउने काम गरियो । विश्व बैंकसँग पहल गरी वीरगञ्जको दीर्घकालीन खानेपानी समाधानका लागि साढे चार सय करोडभन्दा बढीको आयोजना निर्माण प्रक्रिया सुरु भइसकेको छ ।” त्यस्तै हैजा महामारीका बेला काठमाडौंबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली ल्याएर नियन्त्रणमा भूमिका खेलेको तथा कोरोना महामारीका समयमा पनि घरमै नबसी जनताको घरदैलोमा पुगेको उनले स्मरण गराए । यस निर्वाचनमा फरक दलबाट उम्मेदवार बन्नुको कारण स्पष्ट पार्दै यादवले संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि नेकपा एमालेमा प्रवेश गरेको बताए । उनले भने, “राष्ट्रप्रेम र विकासका सवालमा केपी शर्मा ओलीको चट्टानी अडानबाट प्रभावित भएर एमाले रोजेको हुँ । एमालेमा प्रवेश गरे पनि मधेस आन्दोलनका मुद्दा मैले छोडेको छैन । बाँकी रहेका मधेसका मुद्दा समाधान गर्ने सामथ्र्य एमालेसँग छ ।”
पर्सा–१ मा एमालेका प्रदीप यादवसँगै नेपाली कांग्रेसका अनिल रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्त, जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दकिशोर (नन्दु) श्रीवास्तव, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग, नेपाल कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया, जनमत पार्टीका ओमप्रकाश सर्राफसहित करिब ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: