मुम्बई । यश राज फिल्म्स (वाईआरएफ) ले बलिउडकै चर्चित ’सोलो फिमेल लिड’ फ्रेन्चाइजीको तेस्रो संस्करण ’मर्दानी ३’ को रिलिज मिति घोषणा गरेको छ । रानी मुखर्जीको मुख्य भूमिका रहेको यो बहुप्रतिक्षित फिल्म आगामी जनवरी ३० मा सिनेमाघरमा आउने पक्का भएको हो ।
फिल्ममा रानी एकपटक फेरि निडर प्रहरी अधिकारी शिवानी शिवाजी रोयको शक्तिशाली अवतारमा देखिनेछिन्, जो न्यायका लागि निःस्वार्थ भावले लड्छिन् । इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रानीको कमब्याकको जानकारी दिएको हो ।
’सबैलाई बचाउन सफल नभएसम्म उनी रोकिने छैनन्’ भन्ने सन्देशका साथ फिल्मको प्रचार सुरु गरिएको छ । अभिराज मिनावालाले निर्देशन गरेको यस फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यसअघिका दुवै भागले बक्स अफिसमा व्यावसायिक सफलतासँगै निकै तारिफ पाएका थिए ।
सन् २०१४ मा प्रदर्शनमा आएको ’मर्दानी’ को पहिलो भागले विश्वभर करिब ६० करोड भारतीय रुपैयाँ संकलन गरेको थियो भने सन् २०१९ मा आएको दोस्रो भागले ६७ करोडभन्दा बढीको व्यापार गर्दै आफूलाई हिट सावित गरेको थियो ।
पहिलो भाग प्रदीप सरकार र दोस्रो भाग गोपी पुथरनले निर्देशन गरेका थिए । महिला केन्द्रित एक्सन फिल्मको खडेरी चिर्दै आएको यो फ्रेन्चाइजीले तेस्रो भागमा पनि सामाजिक न्याय र उद्दारको कथालाई निरन्तरता दिने देखिएको छ । सौजन्य यात्रा डेली

