मुम्बई । चर्चित वेब सिरिज ‘मिर्जापुर’ मा आधारित फिल्म ‘मिर्जापुरः द फिल्म’ को चर्चा चुलिएको छ। यसैबिच फिल्ममा अभिनेत्री श्रिया पिलगाउँकर पनि देखिने निश्चित भएको छ। श्रियाले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले फिल्मको सुटिङ सुरु गरेको जानकारी दिएकी हुन् ।
उनले सुटिङ सेटका दुईवटा तस्बिरहरू सार्वजनिक गरेकी छन्, जसमा पहिलो तस्बिरमा फिल्मको क्ल्यापबोर्ड देखिएको छ भने दोस्रो तस्बिरमा उनी अली फजल, श्वेता त्रिपाठी, दिव्यन्दु शर्मा, पंकज त्रिपाठी र रसिका दुग्गल लगायतका कलाकारहरूसँग देखिएकी छन् । श्रियाले पोस्टको क्याप्सनमा ८ वर्षपछि आफू मृत्युको मुखबाट फर्किएको उल्लेख गर्दै प्रशंसकहरूलाई सरप्राइज दिएकी छन् ।
सिरिजको पहिलो सिजनमा उनले स्वीटी गुप्ताको भूमिका निभाएकी थिइन्, जसको सोही सिजनमा हत्या भएको देखाइएको थियो। तर, अब फिल्ममा उनी पुनः सोही भूमिकामा देखिने भएकी छन् । फिल्ममा पंकज त्रिपाठी (कालीन भैया), अली फजल (गुड्डू पण्डित), दिव्यन्दु (मुन्ना त्रिपाठी), अभिषेक बनर्जी र जितेन्द्र कुमार जस्ता मुख्य कलाकारहरूको अभिनय रहनेछ। गुरमित सिंहले निर्देशन गरिरहेको यस फिल्मको कथा पुनीत कृष्णाले लेखेका हुन् । एक्सेल इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म सन् २०२६ भित्रै सिनेमाघरहरूमा रिलिज हुने तयारीमा छ। हलमा प्रदर्शन भएको करिब आठ हप्तापछि मात्र यो फिल्म प्राइम भिडियोमा उपलब्ध हुनेछ । सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएको यस फिल्मको सुटिङ अहिले धमाधम भइरहेको छ । सौजन्य यात्रा डेली

