वीरगञ्ज । भारतले जापानलाई पछाडि पार्दै विश्वको चौथो ठुलो अर्थतन्त्रको उपाधि हासिल गरेको छ ।
भारतीय सरकारले सार्वजनिक गरेको वर्षान्त आर्थिक समीक्षाअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) हाल ४.१८ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यसले भारतलाई अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा स्थापित गरेको छ ।
गति कायम रहेमा सन् २०३० सम्ममा जिडिपी ७.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । त्यसपश्चात् भारत जर्मनीलाई पनि उछिनेर विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने छ ।
अर्थतन्त्रमा आएको विकास मुख्यतः बलियो घरेलु माग र निरन्तर संरचनात्मक सुधारहरूको देन भएको सरकारको दाबी छ । चालू आर्थिक वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा भारतको वास्तविक जिडिपी वृद्धि दर पछिल्ला छ त्रैमासिकमध्ये सबैभन्दा उच्च ८.२ प्रतिशत पुगेको छ । वृद्धिमा निजी उपभोगको प्रमुख योगदान रहेको छ भने औद्योगिक तथा सेवा क्षेत्रले पनि उल्लेखनीय भूमिका खेलेका छन् ।
विश्वव्यापी व्यापारिक अनिश्चितताका बाबजुद भारतले निरन्तर उच्च वृद्धि कायम राखेको छ । सरकारले यसलाई ‘गोल्डिलक्स मोमेन्ट’ को संज्ञा दिएको छ – अर्थात् उच्च वृद्धि र कम मुद्रास्फीतिको दुर्लभ संयोग ।
अन्तर्राष्ट्रिय संस्थाहरूले पनि भारतको आर्थिक भविष्यप्रति उत्साहजनक दृष्टिकोण व्यक्त गरेका छन् । विश्व बैंकले सन् २०२६ मा ६.५ प्रतिशत, मुडीजले जी–२० मा सबैभन्दा छिटो बढ्ने अर्थतन्त्रको रूपमा २०२६ मा ६.४ प्रतिशत र २०२७ मा ६.५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२५ मा ६.६ प्रतिशत र २०२६ मा ६.२ प्रतिशत, ओईसीडीले २०२५ मा ६.७ प्रतिशत र २०२६ मा ६.२ प्रतिशत, एसएन्डपीले चालू वर्ष ६.५ प्रतिशत र अर्को वर्ष ६.७ प्रतिशत, एसियाली विकास बैंकले २०२५ मा ७.२ प्रतिशत तथा फिचले २०२६ मा बलियो उपभोक्ता मागका कारण ७.४ प्रतिशत वृद्धिको अनुमान गरेको छ । यी सबै प्रक्षेपणले भारतलाई विश्वको सबैभन्दा द्रुतगतिमा बढ्ने प्रमुख अर्थतन्त्रको रूपमा स्थापित गरेका छन् ।
आन्तरिक रूपमा पनि स्थिति अत्यन्त सकारात्मक छ । मुद्रास्फीति लक्ष्यभन्दा कम र पूर्ण नियन्त्रणमा छ । बेरोजगारी दर क्रमशः घट्दै गएको छ भने निर्यातमा निरन्तर सुधार भइरहेको छ । बैंकहरूबाट ऋण प्राप्ति सजिलो भएको छ र सहरहरूमा बढ्दो खर्चले बजार मागलाई थप बलियो बनाएको छ । यी सबै आधारहरूले भारतलाई सन् २०४७ सम्ममा उच्च मध्यम आय भएको विकसित राष्ट्र बन्ने महत्त्वाकाङ्क्षी लक्ष्यतर्फ दृढतापूर्वक अघि बढाइरहेका छन् ।
आर्थिक सफलता केवल सङ्ख्यात्मक आँकडा मात्र नभएर करोडौँ भारतीयहरूको मेहनत, उद्यमशीलता र सपनाको जीवन्त प्रमाण हो । नयाँ वर्षको सुरुवातमै प्राप्त यो कीर्तिमानले भारतको उज्यालो भविष्यको झल्को दिन्छ । सौजन्य यात्रा डेली

