लालबन्दी, २२ मंसिर – अनिता देवकोटा÷ सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा त्रिपाल हटाएर जस्तापाताको छानो हालिएको छ । लालबन्दी बजारको जुत्ताचप्पल र कपडा ‘लाइन’ मा रहेका स–साना सर्टर तथा पसलको माथि त्रिपाल हटाएर जस्ताको छानो हालिएको हो । त्यसै पनि साँधुरो रहेको भित्री बजारमा यसअघि प्रत्येक व्यापारीले आ–आफ्नो पसल अगाडि त्रिपाल टाङ्ग्दा झन साँघुरो भएर आउजाउ गर्न असहज हुने गरेको थियो । अहिले भने जस्ताको छानो हालिएसँगै फराकिलो देखिएको छ । बजारमा कपडा, जुत्ताचप्पल, चुरा, श्रृङ्गारका सामग्रीलगायतको किनबेच गर्ने व्यापारी आफैले पैसा उठाएर जस्ताको छानो हालेका हुन् । लालबन्दी बजारका जुत्ता व्यवसायी भीम आछामीले जस्ताको छानो हालिएको स्थानमा अब थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित टिकटक बनाउने र तस्बिर खिच्ने ठाउँको रुपमा विकास गर्न रङ्गीबिरङ्गी डोको झुण्ड्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार यसअघि त्रिपाल टाङ्गेर व्यवसाय गर्नुपर्दा पानी परेको समयमा असाध्य समस्या रहेको थियो । अहिले जस्तापातासँगै छेउबाट पाइप हालेर पानी बग्ने व्यवस्था मिलाइएको जुत्ता व्यवसायी आछामीले बताए । लालबन्दी बजारमा लालबन्दीसहित सर्लाहीका एक दर्जन बढी पालिकासँगै छिमेकी महोत्तरी र सिन्धुली जिल्लाका मानिससमेत किनमेलका लागि आउने गरेका छन् । यसैबिच, लालबन्दी मुख्य बजारस्थित वडा नं. ७ को एकता मार्गमा नाला जाम भएर तरकारी बजार क्षेत्र जलमग्न भएपछि मर्मतको काम थालिएको छ । ढल फुटेर तरकारी बजार र आसपास क्षेत्र जलमग्न हुँदा हिँड्डुलमै समस्या परेको थियो । हिजो दिउँसोबाट नाला जाम भएको स्थानमा मर्मतको काम सुरु गरिएको लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए । सौजन्य उज्यालो अभियान

