लोकतन्त्र समाचारदाता–
सर्लाही १८ मंसिर । मलंगवामा अवस्थित सबै ठुलो निजी विधालय सगरमाथा स्कुलले २५ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको शुभ अवसरमा सांस्कृतिक कार्यक्रम, खेलकुद लगायत विविध कार्यक्रम गरि रजत जयन्ती समारोह भव्य रूपमा मनाएको छ । विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, समूह नाटक, कविता वाचन र विभिन्न विषयगत प्रोजेक्टहरूको प्रदर्शनीले दर्शकलाई अत्यन्त मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपलले विद्यालयले विगत केही वर्षमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै अझै गुणस्तरीय र सीपउन्मुख शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताए ।
अभिभावकहरूले सगरमाथा स्कुलले विद्यार्थीको अनुशासन, पठन–पाठन र अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताले विद्यालय एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको अभिमत राखे । समारोहको अन्त्यमा विभिन्न शैक्षिक तथा सांस्कृतिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार वितरण गरिएको थियो । सबैको साथ र सहयोगले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ ।

