Loktantra Khabar National Weekly
Ad

मधेशमा आज पनि सात दलको आन्दोलन

लोकतन्त्र खबर
२७ कार्तिक २०८२

मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार राति जारी विज्ञप्तिमा उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन पनि अपिल गरेका छन् । यो आह्वानपछि सोमबारदेखि असामान्य बनेको मधेश प्रदेशको राजधानी जकनपुरधाम अझै सामान्य नबन्ने संकेत गरेको छ । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित ७ दलले बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ हुने भएकाले सहभागिताका लागि अनुरोध गरेको छ । मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ । उनीहरुले मंगलबारको कुटपिट घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही माग गरेको छ । आन्दोलनक्रममा घाइते भएका आन्दोलनकारीको स्वास्थ्य लाभको कामना गरिएको छ । सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसहित मन्त्रिपरिषदका अन्य सदस्यलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्न अपिल गरेका छन् । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: