Loktantra Khabar National Weekly
Ad

“प्रदेश प्रमुखले होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्” ः जितेन्द्र सोनल

लोकतन्त्र खबर
२५ कार्तिक २०८२

वीरगञ्ज । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वास्थ्य उपचारका लागि काठमाडौँ हिँडेको बहानामा बाटोमै नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको घटनाले प्रदेशमा राजनीतिक तरङ्ग पैदा गरेको छ ।
निवर्तमान मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले यसलाई ‘प्रदेशको अस्मिता समाप्त पार्ने खेल’ को संज्ञा दिँदै प्रदेश प्रमुखमाथि गम्भीर आरोप लगाएका छन् ।
सोनलका अनुसार, सोमबार बिहानै प्रदेश प्रमुख भण्डारीलाई स्वास्थ्य समस्याका कारण काठमाडौँ उपचारका लागि बिदाइ गरिएको थियो । उनलाई सोनल आफैँले जनकपुरबाट बिदाइ गरेका थिए । तर, केही समयपछि भण्डारी सिन्धुली र महोत्तरीको सिमानामा रहेको एक होटेलमा पुगेर यादवलाई मुख्यमन्त्री पदमा शपथ ग्रहण गराएकी थिइन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको हो । यादव एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य हुन् ।
सोनलले सामाजिक सञ्जालमार्फत घटनाको कडा विरोध गर्दै मधेस प्रदेशको जनतासँग धोका भएको उल्लेख गरेका छन् । “स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन्,” उनले लेखेका छन् ।
शनिवार मात्रै सोनलले आफू नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने देखेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । सोनलले प्रदेश प्रमुखको कदमलाई ‘जनतासँग धोका’ र ‘अस्मिता समाप्त पार्ने षड्यन्त्र’ को रूपमा व्याख्या गरेका छन् ।
घटनाले मधेस प्रदेशको राजनीतिक वातावरणलाई थप जटिल बनाएको छ । प्रदेश प्रमुखको कार्यालयबाट यसबारे आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । यादव नेतृत्वको सरकारले अब ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: