मधेश प्रदेशको इतिहासमै पहिलो पटक मुख्यमन्त्रीले विश्वासको मत लिनमा असफल भएका छन् । मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउन नसक्ने राजनीतिक परिदृश्य देखेपछि अन्ततः राजीनामा दिएका छन् ।
मुख्यमन्त्री बन्नु अघि संवैधानिक व्यवस्था अनुसार दाबी गरिएको सांसदको संख्या प्रदेशसभामा अपुग भएपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् । प्रदेशसभामा राजनीतिक परिदृश्य अन्तर्गत नेकपा माओवादी केन्द्रका सांसद रोहबर अन्सारीले प्रदेशसभामाथि प्रश्न उठाइ असन्तुष्टि पोख्दै आफ्नै अनुहारमा कालोमोसो दलेलगत्तै मुख्यमन्त्री सोनलको विश्वासको मत लिने वातावरण बिग्रिएको थियो ।
सांसद अन्सारीले भने, ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनी बोल्दाबोल्दै सभामुख मण्डलले समय सकिएको भन्दै माइकको लाइन काटेपछि उनले हामी कस्ता सांसद छौं, जनताको त के आफ् नो कुरा पनि राख्न नपाउने बोल्ने मुख थिच्ने कस्तो प्रवृत्ति भन्दै आफ्नो मुखमा आफै रोष्टमबाटै कोलोमोसो दलेका थिए । उनले भने, ‘मधेशका ६४ लाख जनताको अवस्था के छ सदनमा प्रश्न गर्दै उनले भने, ’जेन–जी आन्दोलनले व्यवस्था बद्ले पनि अवस्था बद्लिएन ।’
यता कार्यसूचीलाई उछिनेर सभामुख मण्डलले सांसद अन्सारीलाई बोल्न दिएको विषयमा आपत्ति जनाउँदै सत्तापक्ष प्रदेशसभाबाट बाहिरिएपछि सरकार पक्षका दलहरूले सभामुख मण्डललाई ३० मिनेटपछि सभा सञ्चालन गर्न माग गरेका थिए । सांसद अन्सारी बोल्दाबोल्दै सभामुखले माइकको लाइन काटेपछि माओवादीका अर्का सांसद माला कर्णले पनि विरोध गरेकी थिइन् ।
प्रदेशसभाको अवस्था तनावग्रस्त बनेपछि सभामुखले प्रदेशसभा कार्य सञ्चालन र नियामवली अनुसार चल्ने दोहो¥याए । त्यसपछि सांसदहरु बीच विवाद उत्पन्न भएको थियो । सभामा अवस्था तनावग्रस्त भएपछि ३० मिनेटका लागि बैठक स्थगन गरिएको थियो । एक घण्टासम्म कुनै टुँगो नलाग्दा सभामुख मण्डलले हाउस संचालन गरेपछि मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरुको अनुपस्थितिमै हाउस संचालन गरेको भन्दै मुख्यमन्त्री सोनलले आक्रोश पोख्दै राजीनामाको घोषणा गरे ।
प्रदेशसभामा कुल ५७ मत पाउने दाबी गरे पनि मुख्यमन्त्री सोनललाई जनमत पार्टीका दुई जना, नेपाल संघीय समाजवादी पार्टी एक जना र राप्रपाका एकजना गरी चारजना सांसद अनुपस्थित रहेका थिए भने माओवादी केन्द्रका दुईजना सांसद विपक्षमै थिए । सोनललाई विश्वासको मतका लागि ५४ मत आवश्यकता रहे पनि उनलाई ५२ मत पाउने अवस्था बनेको थियो ।
जनमतबाट जनस्वराज पार्टीमा गएका निर्वतमान मुख्यमन्त्री सतीशकुमार सिंह, त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीका विमला अन्सारी र राप्रपाका कञ्चन विच्छा अनुपस्थित रहेकी थिइन् । सिंह र साहले जनमतबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजेका कारण अनुपस्थित भएको बताइन्छ भने अन्सारी र विच्छा पार्टीको निर्णयअनुसार तटस्थ रहन अनुपस्थित रहेका थिए ।
प्रदेशसभा कार्यविधि नियम अनुसार नचलेको आरोप लगाउँदै मुख्यमन्त्री सोनले भने, ‘यही हाउस जहाँ मत विभाजनको क्रममा ८÷८ घण्टासम्म हाउस स्थगित गरिन्थ्यो । तर आज गलत मानसिकताले प्रदेश सरकार प्रतिनिधि र सत्तारुढ दलका नेताहरुको अनुपस्थितिमा हाउस संचालन गर्नु भनेको दलीय आडमा तानाशाही गरिएकाले यस्तो अवस्थामा म सरकारमा बस्दिन, यहीबाट आफ्नो राजीनामाको घोषणा गर्दछु ।’ उनले अघि थप्दैँ भने, ‘राजीनामा दिएपछि उनले प्रदेश सभालाई डिजर्ब गरेर संघीयतालाई समाप्त पार्न सभामुखले खेल हुँदैछ भन्ने आभास भएपछि संघीयतालाई र प्रदेश सभालाई लोकतान्त्रिक मूल्य मान्यता अनुरुप बचाउन राजीनामा दिएको हुँ ।
सत्तारुढ दलका हाम्रा सांसदहरु चिया खान, दिसापिसाब गएका कारण समयावधि थप्न माग गर्दागर्दै सभामुखले संघीयतालाई समाप्त पार्न हाउस संचालन प्रक्रिया अघि बढाउन खोजेपछि राजीनामा गरेको हुँ ।’ मुख्यमन्त्री सोनलले भने, ‘सभामुखको संघीयता र प्रदेश सभा निस्तेज पार्ने खेललाई रोक्न वैधानिक किसिमले सरकार गठन प्रक्रिया अघि बढोस उद्देश्यले मार्ग प्रशस्त गर्न यो मैले राजीनामा दिएको हुँ ।’उनले सभामुखमाथि आरोप लगाउँदै संघीयतामाथि षड्यन्त्र गर्दै प्रदेशसभा नै विघटन गर्ने मनसाय बोक्नेहरुका पक्षमा सभामुख मण्डल उद्यत देखिएको बताए । सौजन्य जनकपुर टुडे

