मलंगवा, १९ कात्तिक – सर्लाही सदरमुकाम मलङ्गवामा नगरप्रमुख नागेन्द्रप्रसाद यादवविरुद्ध वडाध्यक्षहरुले आजदेखि आन्दोलन सुरु गरेका छन् । नगरप्रमुख यादवले नगरपालिकाको कामकारवाही निजीकरण गरेको आरोपसहित वडाध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् । नगरपालिकाभित्र शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलगायतको तलब र ज्येष्ठ नागरिकलगायतको सामाजिक सुरक्षा भत्ता रोकिएपछि वडाध्यक्षहरु असन्तुष्ट छन् । आन्दोलित वडाध्यक्ष र स्थानीयले मेयर यादवलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका थिए । तर नगरप्रमुख यादव कार्यालयमै नआएपछि उपप्रमुख सकुन्तलादेवी साहलाई ज्ञापन पत्र बुझाएका छन् । उपप्रमुख साहसमेत वडाध्यक्षहरुको ज्ञापनपत्र बुझेपछि मेयरविरुद्धको आन्दोलनमा सरिक भएकी छन् । मलङ्गवा नगरपालिकाको खाता अहिले रोक्का भएकाले कर्मचारीलाई तलब भत्ता खुवाउन र सामाजिक सुरक्षा भत्ता निकासामा समस्या परिरहेको छ । मन्त्रालयको निर्देशनपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले ब्रम्हपुरी गाउँपालिका र विष्णु गाउँपालिकासहित मलंगवा नगरपालिका कार्यालयको खाता रोक्का गरेको हो । अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका होमनाथ सुवेदीको हस्ताक्षरलाई आधिकारिक नमान्नु अर्थात् स्वीकार नगर्नु भनी मन्त्रालयबाटै पत्र प्राप्त भएको कोलेनिकाले जनाएको छ । शिक्षातर्फका उपसचिव सुवेदीलाई बारम्बार निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गरिँदै आएको छ । यस्तै तलब नपाएर शिक्षक आन्दोलित भएपछि मलङ्गवास्थित कृष्णादेवी जनता माध्यमिक विद्यालयका विद्यार्थीसमेत आज नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् । आन्दोलित वडाध्यक्षहरुले पनि कृष्णादेवी माविका शिक्षक, विद्यार्थीको समग्र समस्या समाधान गर्न माग गरेका छन् । सौजन्य उज्यालो अभियान

