मलंगवा, १९ कात्तिक – विभिन्न ५ बुँदे मागसहित सर्लाहीका भूमिहीन सुकुम्वासीले आज सदरमुकाम मलङ्गवास्थित नापी कार्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीको अगुवाईमा जिल्लाभरका भूमिहीन सुकुम्वासीले मलङ्गवा बजारमा ¥याली निकाल्दै नापी कार्यालयमा पुगेर धर्ना दिएका हुन् । आन्दोलित भूमिहिन सुकुम्वासीले भूमि समस्या समाधान आयोगको कामलाई निरन्तरता दिन पहिलो माग राखेका छन् । अघिल्लो सरकारले बनाएको भूमि समस्या सामधान आयोग वर्तमान मन्त्रीपरिषद्को केही दिनअघि बसेको बैठकले खारेज गरिसकेको छ । यस्तै आन्दोलित भूमिहीन सुकुम्वासीले तत्कालिन आयोगले गरेको कामको प्रगति र खर्च सार्वजनिक गरी सर्लाहीमा लामो अवधिसम्म एक परिवारलाई समेत जग्गाधनी प्रमाणपूजा (लालपुर्जा) वितरण गर्न नसक्नुको कारण जानकारी गराउन माग गरेका छन् । यसअघिको आयोगले केकति कारणले काम गर्न नसकेको हो त्यसबारे छलफल आयोजना गरी आलोचनात्मक समिक्षा गर्न, भूमिहीन तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्ने तथा प्रमाणिकरण गर्ने कार्य नरोक्न र नापी कार्यालयबाट प्रवाह हुने सेवालाई सरल तथा सहज बनाउन माग गरिएको छ । यि मागसहितको ज्ञापनपत्र राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरलाई बुझाइएको छ । भूमि समस्या समाधान आयोग सर्लाहीमा जिल्लाभरबाट छ हजार ४४५९ भूमिहिन दलित र आठ हजार ७५२ भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीले जग्गाको लागि निवेदन दिएका छन् । आयोगमार्फत भूमिहिन र अव्यवस्थित बसोवासीको समस्या समाधानको प्रक्रिया अघि बढिरहेको अवस्थामा फेरि पनि आयोग खारेज भएको भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीले दुःख व्यक्त गरेको छ । सौजन्य उज्यालो अभियान

