Loktantra Khabar National Weekly
Ad

वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेपछि गोडैता बजार बन्द स्थानीयद्धारा प्रदर्शन

लोकतन्त्र खबर
२२ आश्विन २०८२

बखतियार अलि
सर्लाही २२ असोज । सर्लाहीको गोडैता नगरपालिका वार्ड नं. ७ का वडाध्यक्ष विनेश कुमार दासलाई प्रहरीले पक्राउ गरेपछि गोडैता नगरपालिका बुधवार आज बिहान देखि स्थानीयहरुले प्रहरी विरुद्ध चर्को नारावाजी गर्दै बजार पुर्ण रुपमा बन्द गरि वडाध्यक्ष दासलाई हिरासत मुक्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

 

वडाध्यक्ष दासले प्रहरी चौकीमा आक्रमण र प्रहरी माथि कुटपिट गरेको भन्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरिक्षक सरोज राईले भने । सर्लाहीको बागमती नगरपालिका कर्मैयाबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी नायब उपरिक्षक राईले जनाएको छ ।

 

वडाध्यक्ष दासले स्थानीयहरुलाई उचालेर असोज १७ गते शुक्रवार गोडैता प्रहरी चौकी माथि ढुंगामुढा गरेको प्रहरीको आरोप छ । प्रहरी चौकी माथि ढुंगामुढा हुदा प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको अगाडिको दुईवटा दाँत भाँचिएको थियो त्यस्तै प्रहरी चौकीमा कार्यरत अन्य ५ जना प्रहरी जवान घाइते भएका हुन् ।

 

सोही घटनाको विषयलाई लिएर वडाध्यक्ष विनेश कुमार दास माथि कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा मुदा दर्ता गरि कार्वाही अगाडी बढाएको प्रहरीको भनाई छ । गोडैता नगरपालिका वार्ड नं. ७ का स्थानीयहरुले वडाध्यक्ष दास माथि प्रहरीले निराधार र गलत आरोप लगाउदै पक्राउ गरेको बताएको छ ।

 

दुर्गा पुजाको चन्दा उठाउने विषयमा ठेकेदार अनिल राय यादव संग पुजा समितिका युवाहरुको विवाद भएको थियो । सोही विवादलाई लिएर गएको शुक्रवार प्रहरी चौकी गोडैतामा ठेकेदार र पुजा समितिका युवाहरुलाई राखेर पंचायती भएको बेला केही युवाहरुले एक्कासी ढुगांमुडा गरेको थियो ।

 

ढुंगामुढा भईरहेको खबर पाएपछि विवाद मिलाउन गएका वडाअध्यक्ष दासलाई प्रहरीले मुख्य आरोपित बनाएर झुठा मुदा लगाई पक्राउ गरेको संविधान सभासदस्य शिवपुजन रायले बताए । विवाद मिलाउन भनेर ढुंगामुढा भइसकेपछि प्रहरी चौकी पुगेका वडाअध्यक्ष दास माथि प्रहरीले गलत आरोप लगाएर मुदा दर्ता गरेर पक्राउ गर्नु सरासर गलत रहेको संविधान सभासदस्य रायको भनाई छ ।

 

पुर्व गाविस अध्यक्ष रामपुकार यादवका भनाई अनुसार वडाअध्यक्ष दास निर्दोष हो । घटनाका वास्तविक दोषीलाई छानबिन गरि प्रहरीले कारवाही गर्नुपर्छ । निर्दोष वडाअध्यक्ष दासलाई पक्राउ गरेपछि स्थानीयहरुले गोडैता नगरपालिका बन्द गरेको पुर्व गाविस अध्यक्ष यादवको भनाई छ ।

 

पुजा समितिका कारिल यादवलाई कुटपीट गरेको भन्दै ठेकेदार अनिल राय यादवलाई प्रहरीले पहिलानै नियन्त्रण लिईसकेको बताए । स्थानीयहरुको भनाई अनुसार ‘दुई पक्षबीचको विवाद मिलाउन वडाध्यक्ष चौकीमा पुगेका थिए ।

 

‘यसमा वडाध्यक्षको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ, प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित नभएको बताएका छन् ।

 

स्थानीयले बजार बन्द गरेर वडाध्यक्षको तत्काल रिहाइको माग गरेका छन् । प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान कारवाही गर्नुपर्छ । वडाअध्यक्ष दासलाई तुरुन्तै रिहा गर्नुपर्ने माग राखेर स्थानीयहरुले बिहानै देखि पदर्शन र बजार बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: