मनोज यादव—
सर्लाही,साउन ६ सर्लाहीका दलित समुदायका विद्यार्थीहरुले छात्रवृत्तिबाट आफुहरुको पढाइप्रति उत्साह बढेको बताएका छन् । आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका दलित समुदायका विद्यार्थीहरुलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गरिँदा उनीहरूको विद्यालय जाने चाहना र पढाइ प्रतिको रुचि बढेको हो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, सर्लाही ले सेभ द चिल्ड्रेन को साझेदारीमा सन् १९९२ देखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।संस्थाले अति विपन्न, ज्यालामजदुरीमा निर्भर परिवारका दलित बालबालिकालाई लक्षित गरी त्रैमासिक रुपमा प्रति विद्यार्थी ४ सयदेखि २५ सय रुपैयाँसम्म छात्रवृत्ति वितरण गरिँदै आएको छ ।
छात्रवृत्ति बापत प्राप्त रकम बाट विद्यार्थीहरूले किताब-कापी खरिद गर्ने, ट्युसन शुल्क तिर्ने, पोसाक तथा व्यक्तिगत सरसफाइ सामग्री किन्ने जस्ता शैक्षिक प्रयोजनमा प्रयोग गर्ने गरेका छन्। छात्रवृत्तिबाट पढाइमा धेरै सहयोग मिलेको र अभिभावकको काँधबाट अतिरिक्त आर्थिक भार समेत कम भएको विद्यार्थी र अभिभावकहरूको भनाइ छ ।
संस्थाले छात्रवृत्तिको सही सदुपयोग, विद्यालयमा विद्यार्थीको उपस्थिति, शैक्षिक प्रगति र पारिवारिक अवस्था बुझ्न नियमित घरभेट र विद्यालय अनुगमन गर्दै आएको छ ।
सोही अनुसार सोमबार संघका अध्यक्ष अधिवक्ता राजेश पासवानको नेतृत्वमा जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीका निमित्त इकाई प्रमुख रामबृक्ष महतो, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय,जिल्ला समन्वय समिति सर्लाहीका ललन पंडित,दलित अधिकारकर्मी राम प्रमोद पासवान, पत्रकार लगायतको टोलीले जिल्लाको मलंगवा, गोडैता, बरहथवा र कबिलासी नगरपालिकामा संचालित कार्यक्रमको संयुक्त अनुगमन गरेका थिए ।
अनुगमन टोलीका अनुसार अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिबाट पठन-पाठन सामग्री, स्कुल ड्रेस र ट्युसन शुल्क व्यवस्थापन गरिरहेका छन् ।
अनुगमनको क्रममा लाभग्राही विद्यार्थीहरुले हालको मूल्यवृद्धिको कारण छात्रवृत्ति रकम केही कम भएको भन्दै संघका अध्यक्ष पासवानसँग रकम बढाइदिन अनुरोध गरेका थिए।
संघका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले छात्रवृत्तिबाट सहयोग पाएका धेरै दलित विद्यार्थीहरू अहिले विभिन्न सम्मानित पेसा र जागिरमा आबद्ध भएको जानकारी दिए। उनले भने”छात्रवृत्ति कार्यक्रमबाट सर्लाहीका सयौं दलित विद्यार्थीहरूमा पढाइप्रतिको रुचि मात्रै बढेको छैन, उनीहरूको भविष्य निर्माणमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ” ।
संघले यो अभियानलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउँदै लैजाने बताएको छ ।

