Loktantra Khabar National Weekly
Ad

स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

काठमाडौं  जेठ १४, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैंले गर्न सक्ने’ उल्लेख गरिएको छ ।

पालिकामा उल्लेख भए बमोजिम गरिएको शिक्षक व्यवस्थापनसम्बन्धी कार्यको विवरण सम्बन्धित एकाइमा लेखी पठाउनुपर्नेछ र एकाइले नियमावली बमोजिम आफूले गर्नुपर्ने निर्णय गरी अभिलेखीकरण गर्नुपर्नेछ ।

आवश्यक कागजात प्राप्त भइसकेपछि सरुवा भई जाने, आउने विद्यालय फरक फरक स्थानीय तहको भएमा अथवा जिल्लान्तर भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक सरुवा गर्नेछ ।

निर्देशिकामा भनिएको छ ‘पेस भएका कागजात रुजु गरी तीन दिनभित्र अन्तर स्थानीय तह वा जिल्लान्तर रूपमा शिक्षकको सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह र एकाइलाई जानकारी दिनुपर्नेछ ।’

त्यसको लागि स्थानीय तहले प्राप्त कागजात यकिन गरी नियमावलीको अनुसूची १७ बमोजिम आफ्नो सहमतिसहित तीन दिनभित्र प्राप्त कागजात शिक्षक सरुवाका लागि सम्बन्धित एकाईमा पठाउनुपर्नेछ ।

त्यस्तैगरी रिक्त भएको पद र पूर्ति भएको पदसम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले तत्‌तत् विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा तत्काल अद्यावधिक गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

शिक्षक सरुवासम्बन्धी व्यवस्थालाई प्रभावकारी तथा व्यवस्थित बनाउन केन्द्रमा एकीकृत पोर्टलको विकास गर्न सकिने र शिक्षक सरुवासम्बन्धी सबै विवरण तथा कार्य विकसित पोर्टलमार्फत गर्न सकिने भनिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: