उनीहरूले उनको
सारीको फेरो नमिलेको कुरा काटे
उनको चोलोको घेरो नमिलेको कुरा काटे
कहिले ‘बसे उठ्न सक्दिनन्’ भने
कहिले ‘उकालो–ओरालो गर्न सक्दिनन्’ भने ।
उनलाई हेर्दा
उनको आत्मविश्वासलाई भन्दा बढी
उनका हातका ‘चुरा देखे’ र अबला ठाने।
उनलाई हेर्दा उनको आत्मनिष्ठाभन्दा बढी
उनको फुलेको कपाल हेरे र असक्षम ठाने ।
उनीहरूले बुझेनन्
आत्मविश्वास उमेरभन्दा कैयौँ गुना जवान हुन्छ
उनीहरूले बुझेनन्
स्त्रीशक्ति पूर्वाग्रहभन्दा सयौँ गुना बलवान् हुन्छ
निष्ठा र बौद्धिकताको सौन्दर्य
यौवनको सौन्दर्यभन्दा
हजारौँ गुना सुन्दर हुन्छ ।
हिजोदेखि आजसम्म
बाहुपराक्रमलाई देवावतार ठान्नेहरूले
अहम् शक्तिलाई शासक र वीर मान्नेहरूले
सत्ता, जुँगाधारीहरूको एकलौटी विरासत ठाने ।
अनादिकालदेखि आदिकालसम्म
सङ्कटमोचनका खातिर
सङ्कल्पित शक्तिस्वरूपा हुन्
या समाज परिवर्तनका खातिर
युद्धमा होमिने स्त्रीलडाकुहरू हुन्
ती सारा
न अवतारमा गनिए
न वीर कहलाइए
न अवसर दिलाइए ।
जब पुल्लिङ्गी शक्ति पराजय हुन्छ
जब पुरुषत्व प्रलयकारी बनी आउँछ
नयाँ सिर्जनाका लागि
तब मात्र स्त्रीशक्तिको आराधना हुन्छ
सन्तुलन र सामञ्जस्यका लागि
स्त्रीशक्तिको आह्वान हुन्छ ।
जसको इतिहास
सत्ता र शासकले लेखिदिनु पर्दैन
समयले आफैँ देख्छ
समयले आफैँ लेख्छ ।

