वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक घण्टाघर छेउमा रहेको बी.पी. उद्यान परिसरमा वीरगञ्ज महानगरपालिकाले ग्रीनसिटीको सहयोगमा बृहद् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वीरगञ्ज ग्रीनसिटीका सामुदायिक अभियन्ता प्रकाश खेतान तथा पर्सा जिल्लाका प्रहरीलगायतको विशेष उपस्थिति रहेको थियो ।
लामो समयदेखि बी.पी. उद्यान परिसर र घण्टाघर आसपासको क्षेत्रमा तरकारी बजार सञ्चालन हुँदै आएकाले सो क्षेत्र फोहर, अव्यवस्थित र अस्तव्यस्त बन्दै गएको स्थानीयवासीको गुनासो रहँदै आएको थियो। हाल वीरगञ्ज महानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित गर्दै हरियालीयुक्त र आकर्षक बनाउने अभियानलाई तीव्रता दिएको छ । नगर प्रमुख राजेशमान सिंहले घण्टाघर क्षेत्र वीरगञ्जको पहिचान र ऐतिहासिक केन्द्र भएकाले यसलाई स्वच्छ, हरियाली र सौन्दर्यपूर्ण बनाउनु महानगरपालिकाको प्राथमिकता रहेको बताए । उनले बी.पी. उद्यान क्षेत्रलाई सार्वजनिक विश्रामस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जानकारीसमेत दिए । वृक्षारोपण कार्यक्रममा सहभागीहरूले यस्ता वातावरणमैत्री पहलले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै प्रदूषण न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सौजन्य यात्रा डेली

