वीरगञ्ज । इरानमा सरकार विरोधी प्रदर्शनले नयाँ उचाइ लिँदै गएको छ । डिसेम्बरको अन्तिम सातादेखि सुरु भएको आन्दोलन सुरुमा आर्थिक सङ्कट, मुद्रास्फीति, रियालको अभूतपूर्व अवमूल्यन र जीवनयापनको महँगाइविरुद्ध केन्द्रित रहेपनि अहिले इस्लामिक गणतन्त्रको पूर्ण परिवर्तन र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामाको मागमा बदलिएको छ ।
राजधानी तेहरानबाट सुरु भएको प्रदर्शन अहिले देशका ३१ मध्ये अधिकांश प्रान्तका सयौँ सहरहरूमा फैलिएको छ । तेहरान, इस्फहान, शिराज, केर्मानशाह, जाहेदान लगायतका ठुला सहरहरूमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरूले “तानाशाहको मृत्यु होस्” “खामेनीको मृत्यु होस्” र “रेजा शाह, तिम्रो आत्मालाई शान्ति मिलोस्” जस्ता नारा लगाउँदै विरोध चर्केका छन् । केही ठाउँमा इरानको वर्तमान इस्लामिक झन्डालाई जलाएर प्रदर्शनकारीहरूले सिंह र सूर्य अङ्कित राजतन्त्र कालको पुरानो झन्डा पनि देखिएका छन् ।
मानवअधिकार संस्थाहरूका अनुसार प्रदर्शन सुरु भएयता कम्तीमा ४०–४८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । केही सुरक्षाकर्मीहरूको समेत ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । फ्रान्स, बेलायत, जर्मनीले संयुक्त विज्ञप्तिमार्फत प्रदर्शनकारीको हत्याको निन्दा गरेका छन् भने संयुक्त राष्ट्र सङ्घले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
इरानी सरकारले प्रदर्शन नियन्त्रण गर्न देशव्यापी इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरेको छ । विगत तिन दिनदेखि देशभर इन्टरनेट सेवा ठप्प भएपछि फोन कल, सामाजिक सञ्जाल र बाहिरी संसारसँग सम्पर्क लगभग शून्य भएको छ । अन्तर्राष्ट्रिय उडानहरूमा पनि प्रभाव परेको छ ।
यसैक्रममा इरानाका सर्वोच्च नेता खामेनीले टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीहरूलाई “विदेशी शक्तिको दलाल” र “ट्रम्पलाई खुसी पार्न आफ्नै सडक बिगार्ने विनाशकारीहरू” भन्दै कडा आलोचना गरेका छन् । उनले इस्लामिक गणतन्त्र “सयौँ हजार शहीदको रगतले स्थापित” भएको भन्दै कुनै पनि हालतमा पछाडि नहट्ने घोषणा गरेका छन् । सरकारी अभियोगकर्ताले तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूलाई मृत्युदण्ड सम्मको सजाय दिन सक्ने चेतावनी दिएका छन् ।
रेजा पहलवीको भूमिका र “प्लान बी”
निर्वासित पूर्व राजा मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीले प्रदर्शनकारीलाई समर्थन गर्दै जनवरी ८ र ९ मा राति ८ बजे देशव्यापी नारा लगाउन आह्वान गरेका थिए । धेरै प्रदर्शनमा उनको नाम र पूर्व राजतन्त्रको समर्थन सुनिएको छ । यद्यपि ट्रम्पले उनलाई तत्काल भेट्ने योजना नभएको बताएका छन् ।
केही सञ्चारमाध्यमले गुप्तचर स्रोतलाई उद्धृत गर्दै खामेनीले ‘प्लान बी’ तयार पारेको दाबी गरेका छन् । प्रदर्शन अझ बढे र सुरक्षा फौजले साथ छोडेमा उनी आफ्ना छोरा मोज्तबा खामेनी सहित करिब २० जना निकटतम व्यक्तिसँग मस्को तर्फ पलायन हुने योजना रहेको बताइएको छ ।
इरानमा जारी आन्दोलन यसअघि सन् २०२२ को महिला, जीवन, स्वतन्त्रता आन्दोलनपछि सबैभन्दा ठूलो र गम्भीर देखिएको छ । आर्थिक सङ्कट, युद्धपछिको अस्थिरता र व्यापक जनआक्रोशले इस्लामिक गणतन्त्रलाई सबैभन्दा ठूलो आन्तरिक चुनौती दिएको छ ।
ट्रम्पको दोस्रो कडा चेतावनी
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भएमा अमेरिका प्रत्यक्ष हस्तक्षेप गर्ने चेतावनी दोहो¥याएका छन् । यसअघि जनवरी २ मा उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाए अमेरिका उनीहरूको जीवन रक्षाका लागि पुग्न तयार रहेको भन्दै वक्तव्य दिएका थिए ।
शुक्रवार ट्रम्पले पुनः इरानको अवस्थालाई निकै नजिकबाट नियालिरहेको बताउँदै हिंसात्मक दमन भए “कडा कारबाही” हुने सङ्केत गरेका छन् । ट्रम्पको भनाइपछि इरानी अधिकारीहरूले अमेरिकालाई “रातो रेखा” ननाघ्न चेतावनी दिएका छन् । सौजन्य यात्रा डेली

