सर्लाही – मधेस प्रदेशभरका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू श्रम शोषण र अन्यायपूर्ण व्यवहारविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरूले आफ्ना ८ बुँदे माग पूरा गर्न आग्रह गर्दै पूर्वघोषित तालिका अनुसार शान्तिपूर्ण आन्दोलन थालेका हुन् । आन्दोलनमा सहभागी स्वास्थ्यकर्मीहरूका अनुसार उनीहरू वर्षौँदेखि न्यून तलबमा, असुरक्षित र असमान कार्य वातावरणमा काम गर्न बाध्य छन् । उनीहरूले सरकारले तोकेको तलब स्केल कार्यान्वयन गर्न, करारमा कार्यरत सरकारी स्वास्थ्यकर्मीहरूलाई हटाएर लोक सेवा आयोगमार्फत दरबन्दी खुलाउन, स्वास्थ्यकर्मीहरूको बीमा तथा सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । साथै, हप्तामा ४२ घण्टाभन्दा बढी काम नगर्न कानुनी सीमा तोक्नुपर्ने माग पनि उठाएका छन् । स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयहरूले पटक–पटक निर्देशन जारी गरे पनि निजी अस्पतालहरूले पालना नगरेकाले स्वास्थ्यकर्मीहरूको मनोबल खस्किएको र अन्ततः आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन् । साथै, आन्दोलनका क्रममा स्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने चेतावनी पनि दिएका छन् । सौजन्य धड्कन एफ. एम.

