वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बसबाट ५० हजार रुपैयाँ बराबरको अवैध पटाका नियन्त्रणमा लिएको छ ।
बुधवार राती प्रहरी चौकी बरियारपुर बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सिकिन्द्र साहको कमान्डमा खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका – १ स्थित प्रहरी कार्यालय अगाडि बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको बसलाई रोकेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा बसको डिकीमा राखिएको सुटकेसभित्र लुकाई छिपाइ राखिएको १६ बन्डल प्रतिबन्धित पटाका फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितका अनुसार, नियन्त्रणमा लिइएको पटाकाको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको छ । उक्त पटाकासहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । सौजन्य यात्रा डेली

