जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण पूर्ण रूपले क्षति भएर कबाड बनेका सवारीसाधन । तस्बिर ः अमुल थापा÷नयाँ पत्रिका
भ्रष्टाचार छानबिनको माग गर्दै जेन–जीले गरेको आन्दोलनका क्रममा सिंहदरबारभित्र र आसपासका सरकारी संरचनासँगै जलेर क्षति भएका ६ सय सात सवारीसाधनको क्षति भएको विवरण संकलन भएको छ । यसमध्ये सहरी विकास मन्त्रालयले पाँच सय ५२ सरकारी सवारीसाधन सम्बन्धित निकायबाट उठाएर संसद् भवनपरिसरमा थन्क्याएको छ भने भौतिक पूर्वाधार मन्त्रालयले आगजनी र तोडफोडमा परेका थप ५५ गाडीसमेत संकलन गरेको छ । यी सबै गाडी कबाडीमा लिलाम गर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।
आन्दोलका क्रममा पूर्ण रूपले क्षति भएका सवारीसाधन विभिन्न निकायबाट उठाउने क्रम जारी रहेको र ती सवारीसाधनको व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए । ‘जलेर कबाडी भइसकेको सवारीसाधनलाई त पत्रु मूल्यमा बिक्री गर्नुको विकल्प देखिँदैन । तर, सिसा फुटेका र सामान्य तोडफोड भएका गाडी भने मर्मत गरेर चलाउन सकिन्छ होला,’ उनले भने, ‘यसबारे तत्काल निर्णय लिइसकेको अवस्था छैन ।’
आगजनी र तोडफोडमा परेर ध्वस्त भएका सवारीसाधन पत्रु मूल्यमा बिक्री गर्ने प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले गत १२ असोजमा पत्राचार गरिसकेको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार अर्थले लेखेको पत्रमा भनिएको छ, ‘आगलागी तथा तोडफोडबाट काम नलाग्ने सवारीमा गम्भीर क्षति भई पुनः प्रयोग गर्न नसकिने भएकाले न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्नू ।’
कुन निकायमा कति सवारीसाधन ध्वस्त ?
– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ३५ थान चारपांग्रे र ७० थान दुईपांग्रे सवारीसाधन ध्वस्त अवस्थामा भेटिएर उठाइएको छ । एक सय पाँचवटा सवारीसाधन प्रधानमन्त्री कार्यालयबाट उठेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट १७ थान चारपांग्रे र ४५ थान दुईपांग्रे सवारी उठाइएको छ ।
– राष्ट्रिय सतर्कता केन्द्रबाट आठवटा चारपांग्रे सवारीसाधन उठेका छन् । जसमा एउटा सडक विभागको नाममा रहेको सवारीसाधन छ । ११ दुईपांग्रे सवारीसाधन उठाइएको मन्त्रालयले जानकारी दिएको छ ।
– अर्थ मन्त्रालयबाट १४ वटा चारपांग्रे र ५४ थान दुईपांग्रे सवारीसाधन उठाइएको छ ।
– परराष्ट्र मन्त्रालयमा सवारीसाधन क्षति भएको छैन ।
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुईवटा चारपांग्रे सवारी क्षति भएको तथ्यांक छ ।
– कानुन मन्त्रालयबाट एउटा दुईपांग्रे सवारीसाधन ध्वस्त भएको उल्लेख छ ।
– वन तथा वातावरण मन्त्रालयमा १० वटा चारपांग्रे र २० थान दुईपांग्रे सवारीसाधन ध्वस्त भएका छन् ।
– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २६ थान चारपांग्रे र ३७ थान दुईपांग्रे सवारीसाधन उठाइएको छ ।
– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई थान दुईपांग्रे सवारीसाधन ध्वस्त अवस्थामा उठाइएको छ ।
– कृषि तथा पशुपक्षी मन्त्रालयबाट पाँचवटा चारपांग्रे सवारीसाधन उठाइएको छ भने ३५ वटा दुईपांग्रे सवारीसाधन उठाइएको छ ।
– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना गाडीलाई आफैँ उठाउने भएको छ । भौतिकअन्तर्गत २४ वटा दुईपांग्रे सवारीसाधन जलेका छन् भने नौवटा चारपांग्रे जलेका छन् । त्यस्तै, मन्त्री आवासमा रहेका दुईपांग्रे सवारीसाधन पनि जलेका छन् । कुल ३५ वटा सवारीसाधन जलेको र २० वटा सवारीसाधन तोडफोड भएको भौतिक मन्त्रालयले जानकारी दिएको छ । यसरी ५५ वटा गाडी भौतिक मन्त्रालयअन्तर्गत जलेका छन् । सडक विभाग र यातायात व्यवस्था विभागअन्तर्गत ध्वस्त भएका सवारीसाधनको तथ्यांक संकलन भइरहेको छ ।
– खानेपानी मन्त्रालयअन्तर्गत पाँचवटा चारपांग्रे र १६ वटा दुईपांग्रे सवारीसाधन ध्वस्त भएका छन् ।
– युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ६ वटा चारपांग्रे र आठवटा दुईपांग्रे सवारीसाधन ध्वस्त छन् ।
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दुई थान चारपांग्रे र १५ थान दुईपांग्रे सवारीसाधन क्षति भएका छन् ।
– मुद्रण विभागका दुईवटा चारपांग्रे सवारीसाधन ध्वस्त हुँदा १५ वटा दुईपांग्रे सवारीसाधन क्षति भएका छन् ।
– सहरी विकास मन्त्रालयमा आठवटा चारपांग्रे र दुईवटा दुईपांग्रे सवारीसाधन ध्वस्त भएका छन् । मन्त्रीनिवासमा रहेका थप दुईवटा चारपांग्रे सवारीसाधन र दुईवटा दुईपांग्रे सवारीसाधन ध्वस्त छन् ।
– राष्ट्रिय युवा परिषद्का दुईवटा दुइपांग्रे सवारीसाधन ध्वस्त छन् ।
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा तीन ध्वस्त मोटरसाइकलमध्ये एउटा निजी मोटरसाइकल छ ।
– गृह मन्त्रालयमा २३ वटा चारपांग्रे सवारीसाधन ध्वस्त भएकामा दुईवटा बाहिरका साधन रहेको जनाइएको छ । गृहमा २२ वटा दुईपांग्रे सवारीसाधन ध्वस्त छन् ।
– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सवारीसाधन क्षतिको विवरण छैन ।
– महिला तथा बालबालिका मन्त्रालयमा १५ वटा दुईपांग्रे सवारीसाधन ध्वस्त छन् ।
– विशेष अदालतबाट पाँचवटा चारपांग्रे र दुईवटा दुईपांग्रे सवारीसाधन ध्वस्त अवस्थामा उठाइएको छ । त्यसबाहेक दुईवटा बस ध्वस्त भएका छन् । सौजन्य नँया पत्रिका

