Loktantra Khabar National Weekly
Ad

स्क्रब टाइफसको बढ्दो सङ्क्रमण, ६८ जिल्ला प्रभावित

लोकतन्त्र खबर
२८ आश्विन २०८२

काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो, उनीहरूलाई जिउ दुख्ने र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिएपछि औषधि सेवन गरे पनि उच्च ज्वरो नघटेकाले श्वासप्रश्वासमा समस्या भएको थियो । त्यसपछि थप उपचारका लागि अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भयो ।
पछिल्लो समय नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार हालसम्म ६ हजारभन्दा बढी केसहरू पुष्टि भएका छन् । कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले समयमै निदान र उपचार नभए यो रोग प्राणघातक हुनसक्ने बताउँछन् । यद्यपि यसको उपचार भने सहज र निःशुल्क उपलब्ध रहेको उनको दाबी छ ।
नेपालमा स्क्रब टाइफस अनुसन्धानका लागि पत्ता लागेको भए पनि २०७२ को भूकम्पपछि रिपोर्टिङ गर्न थालिएको हो । भूकम्पपछि घरबाहिर चौर, झाडी नजिक बस्नुपर्ने बाध्यताका कारण सङ्क्रमण बढी देखिन थालेको थियो । त्यसपछि प्रत्येक वर्ष स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
सन् २०२३ मा ८ हजार जना सङ्क्रमित भएका थिए भने सन् २०२४ मा १० हजार १७९ जना सङ्क्रमित भएका थिए । र सन् २०२५ देखि हालसम्म ६ हजार ५ सय केसहरू रिपोर्ट भएका छन् ।
हाल स्क्रब टाइफसका सङ्क्रमितहरू नेपालका ६८ भन्दा बढी जिल्लाहरूमा देखिएका छन्, खासगरी नुवाकोट, धादिङ, चितवन, पाल्पा, कैलाली, कञ्चनपुर, दाङ, सङ्खुवासभा, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, रोल्पा, अछाम, डडेलधुरा र डोटी लगायतका जिल्लाहरूमा यसको सङ्क्रमण बढी देखिएको छ । हालसम्म स्क्रब टाइफस पहाडी र शहरी क्षेत्रमा देखिएको प्रमुख डा. दाहालले बताए । तथ्याङ्कअनुसार दाङमा करिब ५००, चितवनमा २६६, सङ्खुवासभामा २३५ र अछाममा २७१ जना सङ्क्रमित रिपोर्ट भएका छन् ।
स्क्रब टाइफस के हो र कसरी सर्छ ?
स्क्रब टाइफस ‘ओरिएन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यो रोग लामखुट्टेले सार्ने डेंगु वा मलेरियाजस्तो नभई ‘चिगर माइट्स’ (एक प्रकारको कीर्ना) नामक कीराको टोकाइका कारण सर्ने डा. दाहालले बताए । यी कीर्नाहरू खासगरी घाँसपात र झाडीमा टाँसिएर बसेका हुन्छन् ।
डा. दाहालका अनुसार मुसाजस्ता जीवहरूको शरीरमा टाँसिएर बस्ने कीर्ना जब यी जनावरहरू हिँडडुल गर्दा झाडी वा घाँसमा खस्छन्, अनि मानिस ती ठाउँमा खाली खुट्टा हिँड्दा वा शरीर पूरै नढाक्ने कपडा लगाएर जाँदा छालामा टाँसिन्छन् । छालामा टाँसिएर टोकेपछि त्यसले ब्याक्टेरिया रगतमा पठाउँछ र सङ्क्रमण हुन्छ । यद्यपि मानिसबाट मानिसमा सर्ने रोग भने नभएको उनले बताए ।
लक्षण
सङ्क्रमणको मुख्य लक्षण उच्च ज्वरो आउनु हो । यसबाहेक कीर्नाले टोकेको ठाउँमा चुरोटले पोलेको जस्तो कालो दाग देखिनु यसको एक लक्षण हो । थकान महसुस हुने, पेट दुख्ने, खोकी लाग्नेजस्ता लक्षणहरू पनि देखिने उनले बताए । कहिलेकाहीँ यसले मस्तिष्कमा असर गर्ने, आँखाको सङ्क्रमण गराउने वा लिम्फ ग्रन्थीहरू सुन्निने पनि हुनसक्ने उनले बताए ।
समयमै उपचार नगरिए यसले शरीरका धेरै अङ्गहरूमा एकैपटक असर गरी ‘मल्टीअर्गान डिस्फंक्सन’ गराउन सक्ने उनले बताए । डेंगुको जस्तै स्क्रब टाइफस पत्ता लगाउन पनि १५–२० मिनेटमा नतिजा दिने उनको भनाइ छ ।
एजोथ्रोमाइसिन र डक्सिसाइक्लिन नामक दुईवटा औषधिहरू सरकारले निःशुल्क रूपमा स्वास्थ्य चौकीसम्म उपलब्ध गराएको उनले बताए । यी औषधिहरूले ब्याक्टेरियालाई नष्ट गरी रोग निको पार्ने उनको भनाइ छ । स्क्रब टाइफसकै कारणले भएको मृत्युको स्पष्ट रिपोर्टिङ मेकानिजम हालसम्म विकसित भइनसकेको पनि डा. दाहालले जानकारी दिए ।
‘यदि समयमा रोगको निदान गरी उपचार गरिएन भने यसले शरीरका सबै अङ्गलाई एकैचोटि असर पारी मल्टीअर्गान फेलियर गराउन सक्छ, जसले मृत्युको ठुलो कारण बन्न सक्छ । त्यसैले यसको उपचार सजिलो भए पनि यसलाई लापरबाही गर्दा वा ढिला स्वास्थ्य संस्थामा पुग्दा गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ,’ उनले भने ।
रोकथाम
खेतीपाती, घाँस दाउरा वा जङ्गलमा जाँदा वा झाडीयुक्त स्थानमा काम गर्दा शरीर पूरै ढाक्ने लामा बाहुला भएका कपडा र ट्राउजर लगाउने ।
खाली खुट्टा वा खुला शरीरका भागहरूमा कीटनाशक (मस्किटो रिपेलेन्ट) प्रयोग गर्ने ।
घर वरपरको फोहोर सफा राख्ने, मुसाका दुलोहरू बन्द गर्ने र घरमा मुसाको आवागमन रोक्ने ।
पार्क वा घाँसे मैदानमा जाँदा खाली खुट्टा नहिँड्ने र झाडी भएको ठाउँमा बस्दा सावधानी अपनाउने । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: