Loktantra Khabar National Weekly
Ad

सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १२२ घाइते

लोकतन्त्र खबर
२२ आश्विन २०८२

धनगढी, २२ असोज । सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा आठ जनाको मृत्यु र एक सय २२ जना घाइते भएको बताए ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ । कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु र ३७ घाइते भएका छन् ।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु र १४ घाइते, दार्चुलामा एकको मृत्यु र १० जना घाइते,डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएपनि मृत्यु भने कसैको नभएको डीएसपी जोराले बताए ।
दशैंको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।
आठ लाख ७३ हजार राजश्व संकलन
दशैंको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ ।
प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली चार लाख ६७ हजार र कञ्चनपुरमा एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ ।
बझाङमा ६५ हजार, डोटीमा ६४ हजार,डडेल्धुरा र बैतडीमा ३४÷३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: