मलंगवा, सर्लाही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
मिति २०८२ साल भाद्र १९ र २० गते अधिवेशन सम्पन्न भएपछि भाद्र २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवास्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला दिउँसो करिब २ बजे पार्टीका निर्वाचन कार्यलाई अवरोध पुर्याउँदै निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक र अन्य सदस्यहरू माथि गालीगलौज, बेइज्जत र कुटपिट गरेको आरोप लगाइएको छ ।
साथै, सो क्रममा नगद समेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष लगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको लिखित प्रतिवेदनमा उल्लेख गरीएकाे छ ।
यस घटनालाई लिएर मिति २०८२ साल असाेज ५ गते उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गम्भीर ध्यानाकर्षण गरेको छ ।
बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न तथा संलग्न व्यक्तिहरू माथि आवश्यक संगठनात्मक कारबाही अघि बढाउन केन्द्रीय संगठन विभागलाई औपचारिक जिम्मेवारी दिने निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।
पार्टीका नेताहरूका अनुसार जसपाले आफ्नो संगठनलाई व्यवस्थित, अनुशासित र लोकतान्त्रिक पद्धतिमा अघि बढाउन कुनैपनि प्रकारको अनुशासनहीनता, हिंसा र अव्यवहारलाई सहन नगर्ने पार्टीले विज्ञप्तिमार्फत भनेकाे छ ।
विज्ञप्तिले अधिवेशन पार्टीको एकता र संगठन मजबुत बनाउन गरिएको ऐतिहासिक कार्यक्रम हो ।
त्यस्तो अवसरमा अवरोध सिर्जना हुनु दुःखद र निन्दनीय छ । दोषी पत्ता लगाई निष्पक्ष छानबिन मार्फत कारबाही गरिनेछ ।
यस घटनापछि सर्लाही जिल्लामा पार्टी कार्यकर्ताहरूबीच चर्को छलफल र असन्तुष्टि देखिएको छ भने नेतृत्वले छिटो र कडा कदम चाल्ने आश्वासन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्:

