लोकतन्त्र समाचारदाता–
सर्लाही १२ भाद्र । प्रादेशिक असपताल सर्लाहीमा झाडापखालाको बिरामी भाद्र महिनाको ७ गते देखि बढदै गएको छ । प्रादेशिक असपताल मलंगवाले दिएको जानकारी अनुसार गएको ७ गते देखि प्रतिदिन १० देखि १२ जनाको हाराहारीमा झाडापखालाको बिरामी उपचारका लागि आउने गरेको बताएको छ । प्रादेशिक असपताल मलंगवाका चिकित्सक डा. सचिन यादवले झाडापखालाको बिरामी बढेको बताउनु भयो ।
बारा र पर्सामा हैजा रोगको महामारी फैलिएकाले प्रादेशिक असपताल मलंगवामा उच्च सतर्कता अपनाईएको डा. यादवले भने । झाडापखालाको बिरामी दिन्हु बढदै गएपनि हाल सम्म बिरामीहरुमा हैजा पुष्टि भएको छैन । हैजा महामारी नियन्त्रण तथा रोगको रोकथामका लागि प्रादेशिक असपताल मलंगवा पुर्ण रुपमा तैयार अवस्थामा रहेको डा. यादवले दाबी गर्नुभयो ।
कुनै पनि महामारी नियन्त्रणका लागि हाम्रो चिकित्सकहरुको विशेष दस्ता तयारी अवस्थामा बसेको उनले बताए । गएको केहि दिन यता झाडापखालाको बिरामीको संख्या हवात्तै बढेको असपताल प्रशासनको भनाई छ । झाडापखालाका केहि बिरामीहरुलाई रेफर समेत गरेको असपताल प्रशासनले बताए । यसै गरि पर्साको पोखरिया नगरपालिका र बाराको कलैया नगरपालिकामा हैजा सङ्क्रमण पुष्टि भईसकेको छ ।
पोखरिया अस्पतालमा झाडापखालाको गुनासो लिएर भर्ना भएका १३ जनामध्ये ७ जनामा हैजा पुष्टि भएको थियो । मङ्गलवार ३ जनामा सङ्क्रमण देखिएको थियो भने बुधवार थप ४ जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको भनाई छ ।
हाल १२ जना पोखरिया अस्पतालको जनरल वार्डमा उपचाररत छन् भने एक जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । सङ्क्रमित मध्ये अधिकांश वीरगञ्जमा बसोबास गर्ने रहेको अस्पतालले जनाएको छ । यसैगरी, बाराको कलैया नगरपालिका–१८, पचौराका ५५ वर्षीय एक पुरुषमा बुधवार हैजा सङ्क्रमण पुष्टि भएको छ । उनी वीरगञ्जमा काम गर्ने क्रममा सङ्क्रमित भएको बताए ।
यसरी मधेश प्रदेशको अर्थिक नगरी पर्सा जिल्लाबाट सुरु भएको हैजा महामारी प्रदेश भरि फैलिन सकने अवस्था रहेको छ । समयमै उच्च सतर्कताका साथ हैजा नियन्त्रण गरिएन भने प्रदेशकै ८ जिल्लामा हैजाको महामारी फैलिन सकने स्थानीयहरुले गुनासो साथ चिन्ता व्यतm गरेको छ ।

