लोकतन्त्र समाचारदाता–
मलंगवा ०६ सर्लाही । गौर घटनाको छानबिन गर्ने नाममा सर्वोच्च अदालतले दिएको षडयन्त्रपूर्ण परमादेशको बिरोध गर्दै शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा जनता समाजवादी पार्टी (जसपा) नेपालका हजारौं नेता कार्यक्रताहरुले बिरोध प्रदर्शन गरेको छ । मधेश जनविद्रोह र सहिदहरूको बलिदान माथि आघात पुगेको भन्दै जसपा नेपाल, सर्लाहीले शुक्रवार वृहत विरोध प्रदर्शन गरेको हो ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा पुर्व अर्थ मन्त्री माननीय संजय यादवको नेतृत्वमा हजारौं नेताकार्यकर्ताहरुले बिरोध जुलुसमा सहभागिता जनाएका थिए । तुल–ब्यानर सहित सदरमुकाम मलंगवाको तिनबिघे मैदानबाट शुरु भएको बिरोध जुलुस नगर परिक्रमा गरि पुन जिविस चोकमा रहेको शहिद पार्कमा कोणसभामा परिणत भएका थिए ।
बिरोध जुलुसमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । पुर्व अर्थ मन्त्री माननीय संजय यादवले भने पार्टी अध्यक्ष उपेन्द्र यादव एउटा बिचार हो । शोसित, पिडित, जनताको आवाज हो । यसलाई कसैले दबाउन खोजे मधेशमा ठुलो आन्दोलन हुने उनको भनाई छ ।
कविलासी नगरपालिकाका पुर्व प्रमुख कौशल राय यादवले भने इन्सेक सहितका मानव अधिकार संस्थाले सार्वजनिक गरेका प्रतिवेदनलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको दृष्टिकोणले मधेशी जनताको संघर्षप्रति अन्याय गरेको उनले आरोप लगाए । जसपा नेपालका पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको उल्लेख गर्दै सहिदको बलिदानलाई न्याय नदिने न्यायालयको आदेशलाई अस्वीकार गर्ने उनले चेतावनी समेत दिनुभयो ।
“गौर घटना मधेश आन्दोलन सँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन ।” घटना भएको झण्डै १९ बर्ष पछि राजनीतिक पुर्वाग्राही राखि मुलुकमा संघियता र पहिचानको मुद्दा समाप्त पार्न राज्यले अदालतको प्रयोग गरि षडयन्त्र गरेकाले मधेशमा अब पहिचान र अधिकारको ठुलो आन्दोलन हुने जसपाका नेता बिजय यादवले दाबी गर्नुभयो । बिहिवार पनि सर्लाहीको बरहथवामा जसपाका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका हुन् । २०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।
सोही घटनालाई मुदा बनाएर जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव माथि सर्वोच्च अदालतमा मुदा दर्ता भएपछि देश भरिमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलन गरिरहेको छ । पुर्वाग्राही रुपले मुदा दर्ता गरि मधेशी जनताको आवाजलाई वर्तमान सरकारले दबाउन प्रयास गरिरहेकोले आफुहरु आन्दोलन गर्न बाध्य भएको पार्टीले जनाएको छ ।

