मनोज यादव-
सर्लाही, साउन २२ गते । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने वडा न(८ राजश्री चौकदेखि वडा न(२ झण्डा बजार ९पब्लिक मावि० सम्मको सडक निर्माणमा ठेकेदार कम्पनीको लापरवाहीका कारण महिनौदेखि स्थानीयवासी धुलोको सास्ती खेप्न बाध्य छन्। निर्माण कार्यको ढिलाइले दैनिक यात्रा जोखिमपूर्ण बन्नुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ।
सडकमा अत्यधिक धुलो उडेर जनजीवन कष्टकर बनेपछि एक महिना अगाडि स्थानीय महिला तथा पुरुषहरूले हातमा कुचो लिएर प्रदर्शन गरेका थिए। आक्रोशित भीडले सडकमा टायर बालेर सडक अवरुद्ध गरेपछि प्रहरी प्रशासनको पहलमा ठेकेदार चन्द्रिका साहलाई बोलाएर चार–पाँच दिनमै कालोपत्रे सुरु गर्ने सहमति भएको थियो। तर, सो सहमति भएको एक महिना बितिसक्दा समेत काम सुरु नहुँदा स्थानीयहरु फेरि आक्रोशित भएका छन्।
सडकमा उडेको धुलोका कारण साना बालबालिका, वृद्धवृद्धा र दम तथा एलर्जीका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। “धुलोको कारणले सास फेर्न गाह्रो भएको छ, छोरी बिरामी परेकी छिन्, उपचार गर्न जानुपर्ने अवस्था छ,” वडा नं। २ की गृहणी मुक्ता यादवले गुनासो गरिन्।
ठेकेदारको लापरवाही केवल एक क्षेत्रमा मात्र सीमित छैन। वडा नं। १० टावर चौकदेखि वडा नं। ८ रञ्जितकार कोल्ड स्टोरेजसम्मको हुलाकी सडक पनि अस्तव्यस्त अवस्थामा छ। यस्तै काम प्रति चरम लापरबाही, ढिलासुस्ती, म्याद थप्ने प्रवृत्ति, र सरकारी नियमनको कमजोरीले सडक निर्माणको जिम्मा लिने ठेकेदारहरू झन ढीठ बन्दै गएको स्थानीय नेता सोहन झा बताउँछन्।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी भन्छन्, “समयमै काम नगर्ने ठेकेदारमाथि सरकारले कडाइ नगरे समस्या झनै गम्भीर बन्छ। पटक–पटक म्याद थपिदिँदा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरूको मनोबल बढेको छ।” उनका अनुसार सडक निर्माणमा देखिएको अटेर प्रवृत्तिलाई समयमै नियन्त्रण नगरे यसले दीर्घकालीन समस्या निम्त्याउँछ ।

