Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा जसपाद्वारा तीनदिने विरोध कार्यक्रम घोषणा,साउन २२ गतेदेखि जिल्लाभर आम हडताल तथा यातायात बन्दको घोषणा

लोकतन्त्र खबर
१८ श्रावण २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही, साउन १८ जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले मधेस प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवलाई झुटो मुद्दामा फसाइएको भन्दै तीन दिनसम्मका लागि विरोध कार्यक्रम घोषणा गरेको छ।

 

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा यादवलाई झुटो मुद्दामा फसाएर राजनीति प्रतिशोध लिन खोजिएको र यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि हमला भएको उल्लेख गरिएको छ।

 

विज्ञप्तिमा सर्लाही जिल्लामा भइरहेको भ्रष्टाचार, प्रहरी प्रशासनको मनपरी, ठगी र जनविरोधी कार्यहरूका विरुद्धमा जनस्तरबाटै आवाज उठाउन आवश्यक रहेको भन्दै तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिने उल्लेख छ।

 

पार्टीद्वारा घोषणा गरिएका कार्यक्रमहरु अनुसार साउन २० गते मंगलबार दिउँसो ३ बजे विशाल विरोध र्याली र साउन २१ गते बुधवार  बेलुका ७ बजे मसाल जुलुस निकालिनेछ। त्यसपछि  साउन २२ गते बिहीबारदेखि सर्लाही जिल्लाभर अनिश्चितकालीन आम हड्ताल तथा यातायात बन्दको घोषणा गरिएको छ।

पार्टीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै नेता, कार्यकर्ता र स्थानीय बासिन्दालाई कार्यक्रममा सहभागिता जनाउन अपिल गरिएको छ। साथै, शान्तिपूर्ण आन्दोलनमार्फत न्यायको पक्षमा उभिन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: