Loktantra Khabar National Weekly
Ad

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलंगवाको नयाँ कार्यालय भवन शिलान्यास  – लागत २ करोड ८८ लाख

लोकतन्त्र खबर
२० असार २०८२

मनोज यादव—
सर्लाही,असाढ २० भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलंगवाको नयाँ कार्यालय भवनको शुक्रबार विधिवत्  शिलान्यास गरिएको छ।
विज्ञ केन्द्र मलंगवाका निमित्त कार्यालय प्रमुख उपेन्द्र सिंहको अध्यक्षतामा आयोजित एक समारोहका बिच प्रमुख अतिथि मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उक्त नयाँ भवनको शिलान्यास गर्नुभएको हो।

 

२ करोड ८८ लाखको लागतमा निर्माण हुन लागेको उक्त  भवन अढाइ तल्लाको हुने छ, जसमा जम्मा १४ वटा कोठाहरु रहनेछ। भवन निर्माणको जिम्मा काया आकाश जेभी निर्माण सेवा मलंगवा -११ गम्हरियाले लिएको छ।आगामी आर्थिक वर्ष २०८३ सालको असार मसान्तसम्ममा भवनको सम्पूर्ण  निर्माण सम्पन्न गरी कार्यालयलाई हस्तान्तरण गरिने ठेकेदार विजय यादवले जनाएको छ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, प्रदेश सांसद जंगिलाल राय, प्रदेश दुग्ध विकास बोर्ड अध्यक्ष शम्भु साह, कृषि ज्ञान केन्द्र प्रमुख कमलदेव कुशवाहा, नेपाली काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति श्रेष्ठ र नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो।

 

सोही अवसरमा विज्ञ केन्द्र मलंगवाले तीनजना सेवानिवृत्त कर्मचारी तथा पशु सेवा क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ। सेवानिवृत्त अधिकृत छैंठौं रामजी राय यादव, पशु चिकित्सक सुरेन्द्र भारती (लालबन्दी), अधिकृत छैठौं राम एकवाल साह (बागमती) लाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

 

त्यसैगरी, पशु चौमायामा कृतिम गर्भाधारण सेवा प्रभावकारी रूपमा सञ्चालन गरेका अधिकृत छैठौं श्यामसुन्दर राय (मलंगवा), अधिकृत छैठौं जगरनाथ लामा (हरिवन) र निजी क्षेत्रबाट उल्लेखनीय सेवा पुर्‍याएका श्यामबाबु साह (बरहथवा-५) लाई पनि संयुक्त रूपमा कार्यालय प्रमुख उपेन्द्र सिंह र प्रदेश दुग्ध विकास बोर्ड अध्यक्ष शम्भु साहले दोसल्ला ओढाएर कउरपत्रका साथ सम्मान गरेका थिए।

 

कार्यक्रममा विज्ञ केन्द्रका कर्मचारी, किसान, पशुपालक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: