Loktantra Khabar National Weekly
Ad

सुनचाँदी व्यवसाय बन्दको घोषणा, सर्लाहीमा पनि सम्पूर्ण पसल अनिश्चितकालको लागि बन्द

लोकतन्त्र खबर
१९ असार २०८२

मनोज यादव—-
सर्लाही,असाढ १९ सरकारले आर्थिक वर्ष २०८२/०८३ मा सुनचाँदी तथा आभूषण क्षेत्रमा लगाइएको नयाँ कर र मूल्य अभिवृद्धि कर (VAT) प्रति विरोध जनाउँदै सर्लाही जिल्लाका सम्पूर्ण सुनचाँदी पसलहरू  अनिश्चितकालीन रूपमा बन्द गरिएका छन्।

 

नेपाल सरकारद्वारा सुनमा २ प्रतिशत विलासिता कर र हिरा जडित गरगहना तथा बहुमूल्य रत्नपथ्थरमा १३ प्रतिशत VAT लागू गरिएको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा देशव्यापी अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।

 

महासंघद्वारा घोषित बन्द कार्यक्रममा सर्लाहीका व्यवसायीहरूले पूर्ण समर्थन जनाएका छन्। सुनचाँदी व्यवसायी संघ मलंगवा, सर्लाहीका अध्यक्ष बिनय कुमार साहका अनुसार जिल्लाभरिका सम्पूर्ण सुनचाँदी पसलहरू शुक्रवारदेखि पूर्ण रूपमा बन्द रहनेछन्।अध्यक्ष साहले भने, “यो कर प्रणालीले हामी व्यवसायीमाथि अत्याधिक आर्थिक बोझ पार्दछ।

 

भन्सार दर ६ प्रतिशतमै कायम हुनुपर्छ र सुनचाँदीको कारोबारको लागि स्पष्ट नीति तथा नियमावली सरकारले तत्काल ल्याउनु पर्छ।”उनका अनुसार सरकारले व्यवसायीहरूको आवाज नसुनेमा आन्दोलनलाई अझ सशक्त बनाइनेछ।

 

सुनचाँदी व्यवसायीहरूले कर खारेजीको माग गर्दै वैधानिक आन्दोलनको बाटो रोजेका छन् भने यसले विवाह, उत्सव तथा धार्मिक कार्यमा सुनचाँदीको माग गर्ने सर्वसाधारणहरूलाई पनि समस्या सिर्जना गरेको छ।

 

सरकार र व्यवसायीबीच सहमति नजुटेसम्म बन्द कायम रहने सुनचाँदी व्यवसायी संघको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्: