Loktantra Khabar National Weekly
Ad

हुलाकी सडक नबनेपछि मलंगवामा महिलाहरुको आक्रोश – झाडु,कुचो बोकेर सडक जाम

लोकतन्त्र खबर
१५ असार २०८२

मनोज यादव—
मलंगवा, असार १५  विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक समयमै सम्पन्न नहुँदा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ का स्थानीयवासीहरु सडकमा उत्रिएका छन्। आइतबार बिहान ७ बजेदेखि टायर बालेर महिलाहरुले झाडु र कुचो बोकेर विरोध प्रदर्शन गरेका छन्।

सडक निर्माण अलपत्र पारिएको, ठेकेदार सम्पर्कविहीन बनेको र स्थानीय प्रशासन,राजनीतिक दल, मन्त्री ,सांसद, नगरप्रमुख र वडाप्रमुखसमेत यसमा उदासीन देखिएको भन्दै आक्रोशित स्थानीयले सडक जाम गरेका हुन्। जिल्लाको अन्य स्थानमा हुलाकी सडक बनिसकेको भएपनि सदरमुकाम मलंगवाको वडा नम्बर ९  टावर चोकदेखि वडा नम्बर २ स्थित झण्डा बजार पश्चिम मुसैलीसम्मको सडकको काम भने अलपत्र अवस्थामा रहेको छ।

 

प्रदर्शनमा सयौं स्थानीय महिला र पुरुषहरुको सहभागिता रहेको  थियो। धुलोका कारण बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण बिरामी पर्ने, बाटोमा हिँड्नै नसक्ने अवस्था हुने, दुर्घटनाको जोखिमसमेत बढेको भन्दै तत्काल काम सुरु गर्न स्थानीयहरु माग गरेका छन्।

 

स्थानिय युवा नेता सोहन झाले ठेकेदार र सम्बन्धित निकायसँग लिखित रुपमा काम तत्काल सुरु गर्ने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
 

उक्त सडक हुलाकी राजमार्गअन्तर्गत पर्ने भएपनि निर्माण बीचमै रोकिएको दुई वर्ष नाघिसकेको छ। ठेकेदार सम्पर्कमा नरहेपछि स्थानीयको पीडा झनै बढेको छ।

 

स्थानिय प्रशासनले भने समस्या समाधानका लागि पहल गरिने बताएको छ। तर आन्दोलनकारीले सडकको काम समयमै  पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका  छन्।

 

स्थानीयले अब जनस्तरबाटै दबाब सिर्जना नगरे सडक निर्माण कहिल्यै पूरा नहुने भन्दै आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्: