
मनोज यादव
सर्लाही, असार ८ सर्लाहीको बरहथवा र बागमती नगरपालिकाका विपन्न महिलाहरूलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाको समन्वयमा गरिएको यो कार्यक्रममा दुई नगरपालिकाका कृषि सहकारीमा आबद्ध १ सय ८० जना महिलालाई बाख्रा प्रदान गरिएको हो।
बरहथवा–५ स्थित साना किसान कृषि सहकारी संस्था र बागमती–१ मा रहेको ढुङ्ग्रेखोला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाहरूलाई पचास प्रतिशत अनुदानमा चार–चारवटाका दरले उन्नत जातका बाख्रा र प्रति समुह एक–एकवटा बोका वितरण गरिएको हो।
पशु सेवा विज्ञ केन्द्रका भेटेरिनरी अधिकृत दयाराम हरिजनका अनुसार, बरहथवाको साना किसान कृषि सहकारीमा आबद्ध ८० जना र बागमतीको ढुङ्ग्रेखोला सामाजिक उद्यमी सहकारीमा आबद्ध १ सय महिलालाई बाख्रा वितरण गरिएको हो।
सहकारीमार्फत सञ्चालन गरिएको ‘उन्नत बाख्रा पालन कार्यक्रम’ मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को स्वीकृत योजना हो। कार्यक्रम अन्तर्गत विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन र नियमित आम्दानीको स्रोत स्थापना गर्न बाख्रा वितरण गरिएको भेटेरिनरी अधिकृत श्यामसुन्दर यादवले जानकारी दिए।
बरहथवामा आयोजित कार्यक्रममा साना किसान सहकारीका अध्यक्ष राम सागर महतो र बागमतीमा ढुङ्ग्रेखोला सहकारी अध्यक्ष सीता थापाको अध्यक्षतामा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका थिए।
प्रमुख अतिथि कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका सचिव डा. उमेश दाहालले महिलाहरूलाई बाख्रा वितरण गर्नु सिंगो समुदायको आयआर्जन र समृद्धितर्फको यात्रा भएको बताए। उनले बाख्रामा लाग्ने रोगहरूको खोप कार्यक्रम प्रभावकारी रूपमा लागू भएकाले आगामी दुई–तीन वर्षभित्र संक्रामक रोगहरूको जोखिम न्यून हुने विश्वास व्यक्त गरे।
बाख्रासँगै आवश्यक तालिम समेत प्रदान गरिएको जानकारी दिँदै सहकारी अध्यक्ष महतोले महिलाहरूलाई व्यावसायिक बाख्रापालनतर्फ अभिप्रेरित गर्न कार्यक्रमले सहयोग पुर्याएको बताए।
कार्यक्रममा बरहथवा–५ का वडाअध्यक्ष शिवकुमार महतो, पशु चिकित्सक डा. मंजिला कुमारी निरौला, बागमती–१ का वडाअध्यक्ष गम्भीर सिंह पाख्रिन, पशु सेवा विज्ञ केन्द्रका कर्मचारी दिपक कुमार महतो, पंकज कुमार यादव, सहकारीका सेयर सदस्यहरु, स्थानीय महिला तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पछिल्लो समय सर्लाही जिल्लामा व्यावसायिक रूपमा फार्म दर्ता गरी बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ। सरकारी अनुदान र सहुलियतले मासु उत्पादनमा पनि उल्लेखनीय वृद्धि भइरहेको विज्ञ केन्द्रले जनाएको छ।