
लोकतन्त्र समाचारदाता—
सर्लाही, असार ५ नेपाल भारत विकास मंचको आयोजनामा सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हथिऔलामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार एक कार्यक्रमको आयोजना गरि लामखुट्टेबाट सर्ने रोगबाट बच्नका लागि १ हजार २ सय घरपरिवारलाई झुल वितरण गरिएको छ भने करिब २ हजार जनाको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।
स्वास्थ्य सेवा र जनचेतना विस्तारको उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाली कांग्रेस सर्लाहीका उपसभापति डा. सरोज यादव, मधेस प्रदेश दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठा तथा विभिन्न स्थानीय सामाजिक अगुवा र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा यस्ता कार्यक्रमले जनस्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि सिंहले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा सहभागी चिकित्सक टोली, स्वयंसेवकहरू तथा स्थानीयहरुको सक्रियताले कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको थियो।