Loktantra Khabar National Weekly
Ad

कौडेना गाउँपालिकाले ३८ करोड भन्दा बढीको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो

लोकतन्त्र खबर
५ असार २०८२

लोकतन्त्र समाचारदाता
सर्लाही, असार ५ सर्लाहीको कौडेना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार गाउँपालिकाको १४औं गाउँसभा सुरु गर्दै गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले ३८ करोड ८१ लाख ६९ हजार ३६८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।

 

गाउँसभाको उद्घाटन मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा भएको थियो। उपाध्यक्ष नगिना देवी, प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साह, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत सुरेश दास कार्यक्रमका विशिष्ट अतिथि थिए।

 

गाउँसभामा बोल्दै मन्त्री रायले विकासको नाममा माटो गिट्टी मात्र हालेर नहुने भन्दै शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउनुपर्ने सुझाव दिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा यसैअनुसार योजना अघि बढिरहेको जानकारीसमेत दिए।

 

सभामा अध्यक्ष यादवले अघिल्लो आर्थिक वर्षमा भएका कामहरूको समीक्षा गर्दै अबको वर्ष  शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्।

 

सभामा वडा नं १ देखि ७ का वडाअध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन लेखा प्रमुख हरिनारायण साहले गरेका थिए।

 

सर्लाहीमा २० वटा स्थानीय तह छन्। तीमध्ये कौडेना गाउँपालिका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पहिलो पालिका बनेको छ।

प्रतिक्रिया दिनुहोस्: