
मनोज यादव—
सर्लाही,जेठ २४ नेपाल सरकारले ल्याएको नयाँ बजेटले सुनचाँदी तथा हिरा-पत्थर जडित गहनामा कर बढाएको विरोधमा सर्लाहीका व्यवसायीहरूले संयुक्त रूपमा आवाज उठाएका छन्। करबृद्धि विरुद्ध नेपाल सुनचाँदी व्यवसायी लालबन्दी नगर संघ, सर्लाही सुनचाँदी व्यवसायी संघ हरिवन र मलंगवा सुनचाँदी व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत सरकारलाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन्।
सर्लाहीका प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सरकारसँग उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।
व्यवसायीहरूका अनुसार यस वर्षको बजेटमा कुनै सीमा नतोकी सबै गहनामा २ प्रतिशत विलासिता कर र हिरा-पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) लगाइएको छ। उनीहरूले यस निर्णयलाई जनविरोधी, व्यवसायघाती र सामाजिक परम्पराविपरीत भन्दै गम्भीर आपत्ति जनाएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “सुनचाँदीका गहना नेपाली संस्कार, पूजापाठ र पारिवारिक उत्सवको अभिन्न अंग हो। यसलाई विलासिताको वस्तु ठहर गर्दै कर लगाउनु अनुचित छ।” साथै, सरकारले ल्याएको नयाँ कर संरचनाले बजारमा मूल्य वृद्धि गरी उपभोक्तामाथि आर्थिक बोझ बढाउने मात्र होइन, भारतसँगको मूल्य अन्तरका कारण अवैध कारोबार र चोरी पैठारीमा समेत वृद्धि हुने उल्लेख गरिएको छ।
उनीहरूले कर वृद्धिका कारण मुलुकभरका सुनचाँदी बजारमा मन्दी गहिरिने, लाखौँ कारीगर र मजदुरको रोजगारी गुम्ने खतरा रहेको जनाएका छन्।
ज्ञापनपत्रमा सबै प्रकारका सुन तथा गहनामा लगाइएको विलासिता कर र हिरा-पत्थर जडित गहनामा लगाइएको १३% VAT तत्काल खारेज गरिनुपर्ने, सुनचाँदी व्यवसायलाई संरक्षण गर्न दीर्घकालीन नीति र कानुन निर्माण गरिनुपर्ने,कर संरचना परिवर्तन गर्नु अघिनै यसको प्रभावबारे अध्ययन गर्नुपर्ने तथा निर्यात ढुवानीमा लाग्ने २.५% TDS खारेज गरिनुपर्ने लगायतका चार वटा मुख्य मागहरु अधि सारेका छन्।
मलंगवा सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनय कुमार साह,व्यवसायी संघ हरिवनका अध्यक्ष निरंजन कुमार साह र लालबन्दी नगर संघका नि.अध्यक्ष सुरेश कुमार साहसहित जिल्लाभरीका सुनचाँदी व्यवसायीहरु आ-आफ्नो पसल बन्द गरि जिप्रका मलंगवामा ज्ञापनपत्र बुझाउन आएका थिए।