
मनोज यादव-
सर्लाही, जेठ ७ सर्लाहीको मलंगवामा विद्यालयस्तरका विद्यार्थीहरूका लागि फरक र व्यवहारिक शिक्षण पद्धति अपनाउँदै ुनमुना युवा संसद संसदीय अभ्यास कार्यक्रमु सम्पन्न गरिएको छ। मलंगवा नगरपालिकाको आयोजनामा, इम्प्याक्ट इनिसियटिभ नेपाल सर्लाहीको संयोजन तथा तराई मधेश कानुन विद्यार्थी समाज, काठमाडौंको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब ७० जना विद्यार्थीहरूले सांसदको भूमिका निर्वाह गर्दै लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव लिए।
मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता इम्प्याक्ट इनिसियटिभ नेपाल सर्लाहीका जिल्ला संयोजक विकास यादवले गरेका थिए। कार्यक्रमको उद्घाटन गमलामा रोपिएको फूलको बोटमा पानी हालेर वातावरणीय सन्देशसहित नवीन शैलीमा गरिएको थियो।
कार्यक्रममा गम्हरिया मावि र एन्ट आवासीय अंग्रेजी विद्यालय गम्हरियाका कक्षा ९ र १० का विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उनीहरूले सांसद, सभामुख, मन्त्री, प्रतिपक्ष नेतालगायतका भूमिकामा आफैँ प्रस्तुत भई संसदको प्रक्रियागत काम(कारबाहीको अभ्यास गरे।
कार्यक्रममा तराई मधेश कानुन विद्यार्थी समाजका प्रभात लहेरा, पुरुषोत्तम महतो र विकेश यादवले संसदीय प्रक्रिया र कार्यविधिको प्रशिक्षण दिएका थिए। सहभागीहरूले प्रस्ताव प्रस्तुत गर्ने, बहस गर्ने, बहुमतबाट निर्णय पारित गर्ने लगायतका अभ्यास मार्फत व्यवहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रम शिक्षक सन्तोष कर्णको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा गम्हरिया वडा नं। ११ का अध्यक्ष नन्दकिशोर राय ९शम्भु०, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सलिम मिकरानी, प्रहरी निरीक्षक विशाल बुढाथोकी,पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बन्दना झा,शिक्षक,समाजसेवी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूमा आलोचनात्मक सोच, सार्वजनिक अभिव्यक्ति क्षमता र नेतृत्व विकासमा टेवा पुगेको छ। स्थानीय तहमै यस्तो अभ्यासले युवा पुस्तालाई लोकतान्त्रिक प्रक्रियाप्रति सजग र जिम्मेवार नागरिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।