
लोकतन्त्र समाचारदाता-
सर्लाही, जेठ ४।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मलंगवा शाखाले हालै एक महिलाले लगाएको कुटपिटको आरोपलाई निराधार बताएको छ। शाखाका प्रबन्धक प्रेमलाल साह तेलीका अनुसार यो घटना संस्थालाई बदनाम गर्नै उद्देश्यले फैलाइएको हो।
मलंगवा नगरपालिका वडा नं–४ की रजिया पासवानले जेठ २ गते संस्थाका कर्मचारीहरुले कार्यालयमा बोलाएर आफूमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन्। उनले डिप्रोक्सबाट तीन वर्ष अघि १ लाख ४० हजार रुपैयाँ ऋण लिएको र हालसम्म १ लाख ३० हजार रुपैयाँ तिरिसकेको दाबी गरेकी छन्।
तर, शाखा प्रमुख साहले उक्त आरोपलाई अस्वीकार गर्दै भने, “उक्त दिन कार्यालय शुक्रवारका कारण चाँडै बन्द भएको थियो र सबै कर्मचारी घर फर्किसकेका थिए।”
उनका अनुसार कार्यालयमा केवल एक जना पाले थिए, जसले रजियालाई अर्को दिन आउन भनेका थिए। साहको भनाइमा, रजिया पासवान कार्यालयको दोस्रो तलामा जान खोज्दा भर्याङबाट चिप्लिएर लडेकी थिइन्।
उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ। शाखाका अनुसार पासवानले हालसम्म २ लाख ५० हजार रुपैयाँ ऋण लिएकी छन् र अझै १ लाख ३५ हजार ६५३ रुपैयाँ बाँकी छ।
स्थानीय बासिन्दा सुवोध प्रजापति, जो घटनास्थल नजिकै थिए, उनले पनि महिलामाथि कुटपिट नभई चिप्लिएर लडेकी भन्ने कुरालाई पुष्टि गरेका छन्।
डिप्रोक्स शाखाले पछिल्लो समय वित्तीय संस्था र सहकारीहरूलाई बदनाम गराउने नियतले झूटा आरोपहरू लगाइने गरेको गुनासो पनि गरेको छ। यस्ता कार्यप्रति राज्यले कडाइ गर्नुपर्ने जानकारहरूको धारणा छ।