
मनोज यादव–
मलंगवा, वैशाख १८ । मलंगवा नगरपालिका वडा न–७ मुसैलीका स्थानीय बासिन्दाहरूले आर्थिक वर्ष २०७९÷८० र ०८०÷८१ मा सञ्चालन भएका वडा स्तरिय योजनाहरूको विस्तृत विवरण सार्वजनिक गर्न माग गर्दै नगरपालिका र वडा कार्यालय माथि दबाब बढाएका छन् ।
स्थानीयहरूका अनुसार विगत दुई आर्थिक वर्षमा कुन योजनामा कति रकम खर्च भयो र सो अवधिमा वडा कार्यालयमा कति कर्मचारी कार्यरत थिए भन्ने विवरण हामिले माग गरेका हो । यस अघि ९ महिना अघि नै विवेक कुमार यादव, कृष्णा कुमार यादव, राम विश्वास राय, राजदेव राय, रामदास महतो लगायतले वडा अध्यक्ष ईशा मिकरानी समक्ष लिखित रूपमा सूचना माग गरेका थिए ।
तर, लामो समयसम्म कुनै प्रतिक्रिया नआएपछि वैशाख १४ गते नगरप्रमुख नागेन्द्र प्रसाद यादवलाई निवेदन दिएका थिए । निवेदन पछि नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले लेखा शाखालाई आवश्यक विवरण उपलब्ध गराइदिन भनि तोक आदेश दिएका छन् ।
तथापि अहिलेसम्म पनि लेखा शाखानाट सार्वजनिक रूपमा कुनै सूचना उपलब्ध नगराइएको भन्दै स्थानीयहरू आक्रोशित बनेको हो । वडा न–७ अन्तर्गत छोटकी मुसैली, बडकी मुसैली र गणेशिया गरि तीनवटा टोलहरु पर्ने गरेका छन् ।
वडा नं. ७ को वडा अध्यक्ष पदका प्रत्यासी समेत रहेका विवेक कुमार यादवले बिहीबार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै चेतावनी दिएका छन्, “चार दिनभित्र माग गरिएको विवरण उपलब्ध नगराइएको खण्डमा वडा कार्यालय र नगरपालिकामा तालाबन्दी गर्न बाध्य हुनेछौं ।
उनले जनप्रतिनिधिले सार्वजनिक खर्चमा पारदर्शिता अपनाउनु पर्नेमा जोड दिँदै सूचनाको हकसम्बन्धी संवैधानिक अधिकार समेत हनन भएको आरोप लगाए । यो कुनै राजनीतिक आग्रह होइन, जनताको प्रश्न हो ।
योजनाको नाम, खर्च र लाभग्राही सार्वजनिक गर्न किन हिचकिचाइन्छ ? ” यादवले पत्रकार सम्मेलनमा भने । स्थानीयहरूका अनुसार वडा कार्यालयमा सञ्चालित योजनाहरूमा अनियमितता भएको आशंका स्थानीयहरुले गरेको छ । त्यसैले पारदर्शिता कायम गर्न योजना र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको उनीहरुले बताएको छ ।