
लोकतन्त्र समाचारदाता
सर्लाही, चैत १०
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ३ मा रहेको रोज गार्डेन इंग्लिस बोर्डिङ स्कुलमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिएको थियो।
अभिभावक मोहन नेपालको अध्यक्षता तथा मलंगवा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साहको प्रमुख आतिथ्यतामा शनिवार कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका विभिन्न तहका विद्यार्थीहरूमध्ये बेस्ट स्टुडेन्ट अफ द इयर पुरस्कार प्रि-प्राइमरी लेभलका मो. सुल्तान मिकरानी,प्राइमरी लेभलका सिद्धी यादव (कक्षा-३),बेसिक लेभलका (कक्षा ४-७): अमन कुमार महतो (कक्षा-७),सबैभन्दा अनुशासित विद्यार्थी वर्षा कुमारी यादव (कक्षा-६),बेस्ट मनिटर अफ द इयर सोनिया कुमारी यादव (कक्षा-२)र गुड रेकर्ड इन ECA चान्दनी महतो (कक्षा-३)लाई प्रदान गरिएको थियो।
त्यस्तै,PG देखि UKG तहका सिमा यादव,कक्षा १ देखि ३ का गौरी यादव र कक्षा ४ देखि ७ का शिक्षक रामहरि साहलाई पनि विद्यालयको बेस्ट टिचर अफ द इयर बाट सम्मानित गरिएको थियो। उक्त पुरस्कारहरू प्रमुख अतिथि धिरेन्द्र साहसहित विशेष अतिथि तथा अन्य गणमान्य व्यक्तिहरूले प्रदान गरेका थिए।
कार्यक्रममा मलंगवा-७ मुसैलीका वडा सदस्य हारुन मंसुर, गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव, राम गुलाम जनता मावि भाँडसरका शिक्षक राम विश्वास यादव, लोकतन्त्र दैनिकका प्रमुख सम्पादक मनोज यादव, राजीव झा, दिनेश कुमार महतो, विद्यालय व्यवस्थापन समिति मावि मुसैलीका अध्यक्ष लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक रबी कुमार यादवले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न लागिपरेका शिक्षक तथा अभिभावकलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।